झापा — झापाको गौरादह नगरपालिकामा पर्ने कोहोबरा–ग्वालडुब्बा देखी गौरीगञ्ज गाउपालिकाको महाभारा जोड्ने सडकको कालोपत्रेको काम रोकिएपछि स्थानीयलाई सास्ती भएको छ । १५ किलोमिटर सडक कालोपत्रे गर्न बजेट आएपनि बिचैमा बजेट कटौती भएपछि कालोपत्रे निर्माणको काम रोकिएको थियो ।
झापाको गौरादह नगरपालिका अन्तर्गतको कोहोबरादेखी ग्वालडुब्बा हुँदै गौरीगञ्ज गाउपालिकाको महाभारा जोड्ने सडकको कालोपत्रेको काम रोकिएपछि स्थानीय रुष्ट छन् । यो सडक खण्डको दुरी जम्मा १५ किलोमिटर छ । तर, हालसम्म ३ किलोमिटरमात्रै सडक कालोपत्रे भएको छ । साढे ३ करोड रुपैयाको लागतमा उक्त कालोपत्रेको काम सम्पन्न भयो ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले यो सडक कालोपत्रेका लागि आवस्यक बजेट छुट्याएको थियो । तर बिचैमा सरकार परिवर्तन भयो र त्यसपछि नेपाली कांग्रेस नेतृत्वको सरकार बन्यो । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले बजेट अभाब भन्दै यो सडक जस्तै अन्य सडक तथा योजनाहरुको बजेट कटौती गरिदियो । त्यसपछि अहिलेसम्म यो सडक कालोपत्रेको काम रोकिएको छ ।
सडक कालोपत्रे नहुदा यो सडक आसपासका स्थानीयलाई धुलोले हैरानीमात्रै दिएको छैन, बालबालिकाहरुमा स्वास्थ्य समस्यापनि देखिन थालेको झापा गौरादह ७ ग्वालडुब्बास्थित त्रिबेणी टोलका कुमार दाहाल बताउछन् ।
स्थानीयहरु यो सडक कालोपत्रे नहुदा आफुहरुले निक्कै सास्ती भोग्नुपरिरहेको गुनाशो गरिरहेका छन् । एउटा सरकारले बजेट दिने अर्को सरकारले नदिने गर्नाले राजनीतिक खिचातानीको सिकार यो सडक बन्न पुगेको स्थानीयवासी जिवन घिमिरेको बुझाइ छ ।
सडक आसपासमा रोपिएका बोटबिरुवा समेत हरियो हुनुपर्नेमा धुलोकै कारण सेताम्मे देखिन्छन् भने सडक आसपासका घरहरु धुलाम्मे भएको स्थानीय बिनोद पाण्डे गुनाशो गर्छन । सडक बन्छ बन्छ भनेको सुन्नेहरु अझसम्मपनि सडक कालोपत्रे नहुँदा आफुहरुलाई दिक्क लाग्न थालेको र अब बन्ला कि भन्ने आशा समेत हराउदै गएको अर्का स्थानीय दिपेश न्यौपाने बताउछन् ।
यता, गौरादह नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष बलराम खरेल भने आफुहरु यो सडक चाडो कालोपत्रे गरिदिन माग गर्दै सम्बन्धित कार्यालयहरुमा पुगेको र चाँडै काम सुरु हुनेमा आफुहरुले आश्वासन पाएको बताए ।
केहि दिन अघि झापा आएका क्रममा गौरादह नगरपालिकास्थित डोरामारीमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्ब प्रधानमन्त्री केपी शर्मा ओलीलेपनि यस सडकका बिषयमा चासो राख्दै अब चाडै यो सडक कालोपत्रेको काम सुरु हुने बताएका थिए । ओलीको आश्वासनपछि भने यतिबेला यहाका स्थानीयमा अब चाहि यो सडक कालोपत्रेको कामले पूर्णता पाउँला कि भन्ने झिनो आशा भने जागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर