सडक विभागका प्राविधिक कर्मचारीहरूको कमजोरी तथा भौतिक योजना र वन मन्त्रालयबीच समन्वय हुन नसक्दा पुष्पलाल मध्यपहाडी पूर्वी क्षेत्र आयोजनाअन्तर्गत घुर्मी–चतारा–सुनकोसी कोरिडोर सडक निर्माणको योजनाबीचैमा अलपत्र परेको छ ।
उदयपुर जिल्लाको घुर्मीदेखि सुनसरी जिल्लाको चतरा घाटसम्मको १६७ किलोमिटर लामो सडकमध्ये ६० किलोमिटर ट्रयाक खोल्ने भनी २०६७ सालमा टेन्डर आह्वान गरी विभिन्न निर्माण कम्पनीसँग सम्झौता गरी निर्माण गर्न सुरु गरेको योजनालाई सडक विभागले निरन्तरता दिन सकेको छैन ।
सडकको अधिकांश भाग सुनकोसी किनाराको वन क्षेत्रमा पर्ने हुँदा वन मन्त्रालयसँग समन्वय तथा स्थलगत रूपमा सडक निर्माण हुने क्षेत्रको अवलोकनसमेत नगरी काठमाडौँमा बसेर तयार पारिएको वातावरण प्रभाव मूल्याङ्कन (ईआईए)का आधारमा ठेक्का लगाएकोले सो योजनाबीचैमा तुहिन पुगेको निर्माण व्यवसायीको भनाइ छ । भौतिक योजना मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कनसमेत नगरी सरोकारवाला निकायसँगको छलफल बिनै एक्कासि ट्रयाक खोल्नका लागि टेन्डर गरेकाले वन ऐनअनुसार तत्कालीन अवस्थामा काम रोक्नुपरेको डिभिजन वन कार्यालय गाईघाट सहायक वन अधिकृत जागेश्वर साहले बताउनुभयो ।
“सडक निर्माण गर्दा गरिनुपर्ने वातावरणीय परीक्षण र त्यसको प्रभावको अध्ययन नै नगरी एकाएक रुखहरू काटेर सडक निर्माण गर्न थालेपछि त्यतिबेला सो काम रोकिएको हो। भौतिक योजना मन्त्रालयले सडक निर्माण गर्दा त्यसबाट उत्पन्न हुने असरबारे चासो लिनुपर्नेमा त्यसो नगरिएको तथा वन मन्त्रालयको स्वीकृतिसमेत नलिएकाले वन क्षेत्रमा एक्साभेटरको प्रवेशमा रोक लगाइएको हो,” उहाँले भन्नुभयो । विभिन्न २० वटा निर्माण कम्पनीले २० ठाउँबाट २०६७÷६८ मै निर्माणको काम थाले पनि सडक ठेक्का लगाउने अड्डाका प्राविधिक कर्मचारीहरूले कोठामा बसेर तयार पारेको डीपीआरका आधारमा स्थलगत रूपमा लाइन दिन नसक्दा कहाँबाट कसरी सडक खन्नुपर्ने हो अन्योल भएको उक्त कोरिडोर निर्माण व्यवसायीमध्ये लुम्बिनी प्रदीप जेभीका निर्माण व्यवसायी खड्गबहादुर खत्रीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय