शवमा किरा परेको अवस्थामा मोरङको पथरीशनिश्चरेमा आफ्नै घरभित्रै एक जना भुटानी शरणार्थी पुरुष मृत भेटिएका छन् । पथरीशनिश्चरे नगरपालिका–१० स्थित भुटानी शरणार्थी शिविर सेक्टर नम्बर सी (२)मा बस्दै आएका ४० वर्षीय दलबहादुर मगरको शव कुहिएर दुर्गन्ध फैलिएको अवस्थामा फेला परेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङका अनुसार घरभित्र सडेको शव देखेपछि स्थानीयले शुक्रबार प्रहरीलाई खबर गरेका हुन् । प्रहरी टोली घटनास्थलमा पुग्दा घरभित्र सुतिरहेको र किरा परेर दुर्गन्धित भएको अवस्थामा मगरको शव भेटिएको मुकारुङले बताए ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ । शवको पोस्टमार्टम उर्लाबारीको मङ्गलबारेस्थित अस्पतालमा गरिएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेपछि मगरको मृत्यु कालगतिले वा हत्या गरिएका कारण भएको हो भन्ने यकिन हुने मुकारुङले बताए ।
मृत फेला परेका मगर केही समयदेखि घरमा एक्लै बस्दै आएको वडाध्यक्ष सागर राईले बताए । उनका अनुसार मगरका परिवारका सबै सदस्य अमेरिकामा छन् ।