झापामा राष्ट्रिय भूमि आयोगको कार्यालय सञ्चालनमा आएको छ । आयोगले जिल्ला समन्वय समिति झापाको भवन चन्द्रगढीमा आफनो कार्यालय सञ्चालनमा ल्याएको हो । आयोगका झापा अध्यक्ष तिलकसिंह पाण्डेले शुक्रबारदेखि कार्यभार ग्रहण समेत गरेका छन् ।
सरकारले तीन साता अघि उनीसहित देशभरिका २८ जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गर्नका लागि अध्यक्षको जिम्मेवारी तोकेको थियो । आयोगको जिल्ला कार्यालय स्थापना कार्यक्रममा आयोगका सदस्य दाताराम खनालसहित जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, जिल्ला समन्वय समितिका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
आयोगले पहिलो चरणमा कनकाई नगरपालिका, दमक र शिवसताक्षी नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकामा काम गर्ने अध्यक्ष पाण्डेले बताए ।
काम गर्न ती पालिकाले संघीय सरकारसँग सम्झौता समेत गरिसकेका छन् । आयोगले पहिलो चरणमा झापाका चारवटा पालिकामा भएको अव्यवस्थित बसोबास, भूमिहीनको लगत संकलन र नापजाँच गरी धनीपुर्जा वितरण गर्ने छ । त्यसपछि प्राथमिकताका आधारमा बाँकी ११ वटै पालिकामा आयोगले काम गर्नेछ । आयोग जिल्ला कार्यालयमा प्राविधिकसहित ११ जना कर्मचारी रहने छन् । जिल्ला प्रशासन कार्यालयले ती कर्मचारी खटाउने नियम छ ।
जिल्ला कार्यालयमा केही दिन भित्रै कर्मचारी व्यवस्थापन हुने र काम सुरु गरेको ३५ दिनदेखि ४२ दिनमा काम सम्पन्न गर्ने लक्ष्य राखिएको अध्यक्ष पाण्डेले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर