घटस्थापनाको दिन जौ छरेर विजयादशमीको दिन देवीको प्रसादको रूपमा जमरा लगाउने परम्परा हिन्दू धर्मावलम्बी नेपालीको मात्र हो । भारतीय एवं अन्य राष्ट्रका हिन्दूहरूमा यो परम्परा पाइँदैन । वर्षदिनसम्म घरबाट टाढा भएका व्यक्तिहरू पनि मान्यजनको हातबाट आर्शीवादसहित टीका जमरा थाप्न घर पुग्ने गर्दछन् । पुरुषहरूले ढाकाटोपीमा सिउरेको र महिलाले चुल्ठोमा सिउरेको जमराले नेपालीको धार्मिक आस्था एवं सांस्कृतिक एकतालाई प्रतिबिम्वित गराउँछ । यसरी धार्मिक, सामाजिक, सांस्कृतिक एवं स्वास्थ्यको दृष्टिले पनि जमराको ठूलो महिमा छ ।
जौलाई संस्कृतमा यव भनिन्छ । खाद्य पदार्थको दृष्टिले पौष्टिक पदार्थ हो भने जौलाई स्वास्थ्यको दृष्टिले पनि औषधिको रूप मानिन्छ । वैदिक ग्रन्थमा जौलाई रोग दूर गर्ने, यज्ञयज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने ओजको सम्पादक वस्तुको रूपमा लिइएको छ । यसैकारण होला यज्ञयज्ञादिमा जौको प्रयोग प्रशस्त मात्रामा गरिएको पाइन्छ । पौराणिक ग्रन्थमा जौलाई अन्नको राजा मानिएको छ । पुराणमा भगवान् श्रीकृष्णले पनि औषधिहरूमा म जौ हुँ भनेर भन्नुभएको हुनाले पनि यसको धार्मिक महत्व कत्तिको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ ।
वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको महत्व कम्ती रहेको छैन । आयुर्वेदिक ग्रन्थमा जौ र जौको अङ्कुरबाट गर्न सकिने उपचारको उल्लेख भएको पाइन्छ । आधुनिक चिकित्साअनुसार विविध रोगका लागि जौ उपयुक्त रहेको आजका वैज्ञानिकहरूले पत्ता लगाएका छन् । चिकित्सकका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, क्यान्सर एवं मधुमेहजस्ता रोगहरूलाई ज्यादै फाइदा पुर्याउँछ । यसको रसको सेवनले सौन्दर्यमा समेत निखार ल्याउने भनाई छ । यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरूलाई जौबाट निर्मित खाद्यपदार्थ खुवाउनाले चाँडै शरीरमा तागत आउने कुरा विभिन्न खोजबाट पत्ता लागिसकेको छ ।
अमेरिकाका भूविज्ञ डा. आर्क टकसले गरेको अनुसन्धानबाट के पत्ता लागेको छ भने जौको अङ्कुर सम्पूर्ण आहार र औषधिमध्ये सर्वाेत्कृष्ट वनस्पति हो । अन्य हरिया सागपातमा पाइने पौष्टिक तत्व भन्दा जौ वा यसको अङ्कुरमा पाइने तत्व तुलनात्मक रूपमा धेरै नै बढी छ । अमेरिकाका अन्य विशेषज्ञले पनि जमरालाई प्रयोगको रूपमा सफलता पाइरहेका छन् । भारतमा चिकित्सकहरूले गरेको जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगहरूलाई समेत फाइदा पुर्याएको बताएका थिए । नेपालमा पनि जमराको प्रयोगबाट लाभ लिनेहरू नभएका होइनन् । जौमा यस प्रकारका प्रशस्त गुण रहने हुनाले पनि यसको अङ्कुरलाई विजयादशमीको प्रसादको रूपमा प्रयोगमा ल्याइएको बताईने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर