असोज ११,खोटाङ । उच्च अदालत पाटनले खोटाङ र उदयपुर जोड्ने गाईघाट–दिक्तेल सगरमाथा राजमार्गको फोक्सिङटार–सिमपानी (२७ किलोमिटर) सडक खण्ड कालोपत्रेको ठेक्का तोड्ने निर्णय सदरको फैसला गरेको छ ।
ठेकेदार कम्पनी देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीको चरम ढिलासुस्तीका कारण सडक कालोपत्रेको काम अलपत्र परेपछि गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरले २०७९ पुस ८ गते ठेक्का तोड्ने निर्णय गरेको थियो ।
ठेक्का तोड्ने निर्णय बिरुद्ध परेको रिटलाई उच्च अदालत पाटनका न्यायधिस टेकप्रसाद ढुंगाना र गोकर्ण डाँगीको संयुक्त इजलासले बुधबार खारेज गर्ने फैसला सुनाएको हो ।
ठेक्का तोड्ने निर्णय बिरुद्ध ठेकेदारले २०७९ पुस १९ गते उच्च अदालतमा रिट दायर गरेका थिए । उच्च अदालतले अन्तिम फैसला नभएसम्मका लागि सडक कालोपत्रेको ठेक्का तोड्ने निर्णय कार्यान्वयन नगर्न २०७९ माघ ४ गते अन्तरिम आदेश दिए पनि अन्तिम फैसलामार्फत रिट खारेज गर्ने फैसला गरेको हो ।
उच्च अदालतको सो फैसलासँगै ठेक्का तोड्ने र प्रकृया पुरा गरेर पुःन अर्को टेण्डर खुलाउने बाटो खुलेको गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरका योजना प्रमुख गोपालप्रसाद खकुरेलले बताए । पुःन अर्को टेण्डर गरेर कालोपत्रे गर्नेक्रममा लाग्ने खर्च निर्माण व्यवसायीले बेहोर्नुपर्ने भएकाले उनीहरु रिट हाल्न पुगेका थिए ।
सडक कालोपत्रेको काममा भइरहेको ढिलासुस्ती बिरुद्ध खोटाङका प्रदेशसभा सदस्य भुपेन्द्र राईले निरन्तर दवाव दिँदैआएका छन् । अन्तिम पेशीको दिन प्रदेश सांसद राई उच्च अदालत पुगेका थिए ।
त्यस्तै ः सडक कालोपत्रेको काम अलपत्र पार्ने ठेकेदारको बिरोधमा प्रदेशसभा सांसद पाँचकर्ण राई नेतृत्वको स्थानीयले बैसाख १७ गते महुरेमा सडकमै बसेर डेढ घण्टा चक्का जाम गरेका थिए ।