जेठ १३, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनश्रमदान अभियान शुरु गरेको छ । जिल्लाको साविकको सदरमुकाममा रहेको नगरपालिकाले जिल्लास्थित विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा शनिबार देखि औपचारिक रुपमा श्रमदान अभियान शुरु गरेको हो ।

श्रमदान अभियान अन्तरगत पहिलो चरणमा दिक्तेल देखि खार्मी–पाथेका जाने सडक खण्डलाई मर्मत सम्भार गरेर श्रमदान अभियानको शुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनुभयो । पहिलो चरणमा नगरपालिकाभित्र पर्ने ग्रामीण सडकहरु मर्मत गर्ने कामबाट शुरु गरिएको श्रमदान अभियान हाम्रो कार्यकालभरी जारी राख्ने मेयर भट्टराईले जानकारी दिनुभयो । नगरपालिकाभित्रका ग्रामिण सडक, सार्वजनिकस्थलहरुको मर्मत तथा सरसफाइ लगायतका क्षेत्रमा श्रमदान अभियान चलाइने मेयर भट्टराईले बताउनुभयो । नगरपालिकाले शुरु गरेको श्रमदान अभियानलाई प्रभावकारी रुपमा सफल बनाउन श्रमदानमा सहभागी हुन नगरबासीलाई मेयर भट्टराईले आग्रह गर्नुभएको छ ।

नगरपालिकाले शुरु गरेको श्रमदान अभियानमा उद्योग वाणिज्य सङ्घ, खोटाङ यातायात प्रा.लि. खोटाङ, ट्याक्टर तथा ट्रिफर व्यवसायी सङ्घ, टोल विकास समिति, स्थानीय बासिन्दा लगायतको सहभागिता रहेको छ । ट्याक्टर तथा ट्रिफर व्यवसायी सङ्घमा आवद्ध एकजना व्यवसायीले कम्तिमा ४० हजार बराबरको श्रमदान उपलब्ध गराउनेगरी अभियानमा सहभागी भएको मेरुङ कन्ट्रक्सन प्रा.लि.का सञ्चालक भलकाजी पुरीले बताउनुभयो ।

श्रमदानको पहिलो दिन दिक्तेल–खार्मी–पाथेका सडकखण्डको करिब १२ किलोमिटर लामो सडकखण्डमा पर्ने सोल्मामा श्रमदान गरिएको छ । श्रमदान अभियानमा मेयर तीर्थराज भट्टराई, उपमेयर विशन राई, वडाध्यक्ष ध्रुवबिक्रम राई, विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि र स्थानीयबासीहरुको सहभागिता थियो ।

जिल्लाको उत्तरी क्षेत्र जोड्ने उक्त सडकखण्डमा सडकमाथिबाट झरेको पहिरो हटाउने, खाल्डाखुल्डी पुर्ने, नाली निर्माण गर्ने, झाडी सफा गर्ने लगायतका काम गरिएको छ । पहिलो दिनको श्रमदानमा चारवटा ट्याक्टर र एउटा जेसिबी प्रयोग गरेर खाल्डाखुल्डी पुरिएको वडा नं. २ सोल्माका वडाध्यक्ष धुव्रबिक्रम राईले बताउनुभयो ।

श्रमदान अभियान अन्तरगत दिक्तेल–खार्मी–पाथेका सडकखण्डको सोल्मामा बगरेभञ्ज्याङबाट रोडा (ढुङ्गाको मसिनो टुक्रा) ल्याएर खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ । नगरपालिकाको जेसीबी र व्यवसायीको ट्याक्टरमार्फत ल्याइएको रोडा श्रमदानमा सहभागीले गैँती, बेल्चा र कोदालो प्रयोग गरेर खाल्डाखुल्डी पुर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय