खोटाङ, १८ वैशाख । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे स्थित माबेमा सञ्चालित भानु आधारभूत विद्यालयमा माध्यमिक तहको कक्षा शुरु गरिएको छ । वि.सं. २०२६ सालमा स्थापना भएको भानु आधारभूत विद्यालयलाई गाउँपालिकाले यही शैक्षिकसत्रदेखि कक्षा–९ सञ्चालनको अनुमति दिएसँगै माध्यमिक तहको कक्षा शुरु गरिएको हो ।
कक्षा–९ मा ३१ जना विद्यार्थी भर्ना गरेर पठन पाठन शुरु गरिएसँगै आधारभूत विद्यालयलाई आइतबार माध्यमिक तहमा स्तरोन्नति गरेर उद्घाटन समेत गरिएको छ । गाउँपालिका अध्यक्ष उदिमबहादुर राई ’मुक्ति‘ले मैन बत्ती बाल्नुका साथै माध्यमिक विद्यालय लेखिएको ब्यानर खोलेर उद्घाटन गर्नुभएको हो ।
विद्यालय स्थापना भएको लामो समयपछि गाउँमै माध्यामिक तहको विद्यालय सञ्चाल भएसँगै लिच्कीराम्चेका विद्यार्थीले तीन घण्टा पैदल हिँडेर छिमेकी वडामा सञ्चालित सिम्पानी मावि सिम्पानी पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ । स्थानीय अभिभावकले सङ्कलन गरेको चन्दा तथा स्थानीय सरकार (गाउँपालिका)को सहयोगले माध्यमिक तहको विद्यालय सञ्चालन गरिएको प्रधानाध्यापक गोपाल राईले बताउनुभयो ।
माध्यमिक तहको विद्यालय उद्घाटन कार्यक्रममा गाउँपालिका उपप्रमुख रुपेश राई, वडाअध्यक्ष इन्द्रबहादुर राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रदेश समिति सदस्य राजन ढकाल, नेकपा (माओबादी केन्द्र) गाउँपालिका अध्यक्ष दीपेन्द्र राई लगायतले शुभकामना दिनुभएको छ । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक अभिभावक सङ्घका अध्यक्ष तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
विद्यार्थीको रोचक नृत्यसहित सम्पन्न भएको कार्यक्रममा माध्यामिक तह सञ्चालनार्थ चन्दा सहयोग गर्ने अभिभावकहरुलाई सम्मानपत्रसमेत प्रदान गरिएको थियो । निमावि राहत तीजना, प्रावि राहत एकजना, बालविकास सहायक एकजना, निजी एकजना र प्रावि दरबन्दी चारजनागरी दशजना शिक्षक रहेको उक्त विद्यालयको हालसम्म १८८ जना विद्यार्थी भर्ना भएको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यार्थी भर्ना अभियान जारी रहेको उक्त विद्यालयमा गाउँपालिका र वडाले एक÷एकजना मावि शिक्षक व्यवस्था गर्ने सहमति भएको प्रधानाध्यापक राईले जानकारी दिनुभयो । वि.सं.२०७८ को जनगणना अनुसार तीन हजार ५७७ जना जनसङ्ख्या रहेको लिच्कीराम्चेमा लक्ष्मी माविसमेत सञ्चालनमा रहेको छ ।