बैशाख ३,खोटाङ । मोटरसाइकल दुर्घटनामा घाइते बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका १३ वर्षीय निश्चल राईको उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल एकआपसमा ठोक्किएर गत चैत–२८ गते दुर्घटना हुँदा गम्भीर घाइते बनेका निश्चलको आज (आइतबार) काठमाडौँस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

मध्यहाडी लोकमार्ग अन्तरगत बाम्राङको काँडेस्थित सडकखण्डमा दिक्तेलबाट मुडेतर्पm जाँदै गरेको बा ६६ प १११४ नम्बरको मोटरसाइकललाई बा ६० प ६८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बा ६६ प १११४ मोटरसाइकलको पछाडि बसेका निश्चल गम्भीर घाइते भएका थिए । दुर्घटना पश्चात् दिक्तेलस्थित फेमेली केयर अस्पतालमा भर्ना गरिएको थियो। तर जिल्लामा उपचार सम्भव नभएपछि सोही दिन हेलिकोप्टर चार्टर गरेर काठमाडौँ लगिएको थियो ।

निश्चल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित आफन्तकामा बसेर कक्षा–८ को परीक्षा सकेपछि आफन्तसँग घर जाँदै थिए । निश्चल सवार मोटरसाइकल आफ्नो साइडमा कुदिरहेको अवस्थामा अर्कोपट्टीबाट आफ्नो साइड मिचेर आएको मोटरसाइकलले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

मृतक निश्चल चढेको मोटरसाइकल सोही स्थान (नुनथला)का २७ वर्षीय अगम राईले चलाएको जनाइएको छ । दुर्घटनामा अगम र बा ६० प ६८६ मोटरसाइकलका चालक बाम्राङका १७ वर्षीय अश्विन राईसमेत सामान्य घाइते भएका थिए ।
दुर्घटनामा गम्भीर घाइते निश्चलको मृत्युपछि उनीहरु दुवैजनालाई नियन्त्रणमा लिएर कानूनी कारबाहीको प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी बेनुका कार्कीले जानकारी दिनुभयो । दुर्घटना गराउने अश्विनको मोटरसाइकल पनि आफ्नो नभएको र चालक अनुमतिपत्रसमेत नरहेको प्रहरीले जनाएको छ ।

चालक अनुमतिपत्र नभएका व्यक्तिले चलाएको सवारी दुर्घटना गराएको खण्डमा घाइतेको मृत्यु भयो भने चालकलाई ज्यान मार्ने उद्योग अन्तरगत कारबाही हुने कानूनी व्यवस्था छ । मृतक निश्चल सवार मोटरसाइकल चालक अगमको भने, चालक अनुमतिपत्र र बिलबुक दुवै रहेको प्रहरीले जानकारी दिएको छ ।

मृतक निश्चलको काठमाडौँस्थित शिक्षण अस्पतालमा शव परीक्षण गरेर किराँत परम्परा अनुसार काठमाडौँमै अन्त्यष्टि गरिएको आफन्तले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर