यतिबेला विद्यार्थी संगठनहरु स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेका छन् । स्ववियुका लागि चैत ५ गते निर्वाचन हुँदै छ । केन्द्रीय राजनीतिमा बनेको ८ दलीय गठबन्धन दलका विद्यार्थी संगठनहरुले तालमेल गर्ने निर्णय गरिसकेका छन् । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका विरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, जनमत, नागरिक उन्मुक्ति, लोसपा र राष्ट्रिय जनमोर्चाका विद्यार्थी संगठनले मोर्चाबन्दी गर्ने सहमति गरेका छन् ।

केन्द्रमा एकखालको गठबन्धन निर्माण भएपनि मोरङको उर्लाबारी बहुमुखी क्याम्पसमा भने त्यसको ठिक विपरीतको गठबन्धन निर्माण भएको छ । यहाँ अनेरास्ववियुको नेतृत्वमा पाँच दलीय गठबन्धन निर्माण भएको छ । नेकपा माओवादीको अनेरास्ववियु क्रान्तिकारी, नेकपा एसको अनेरास्ववियू, राप्रपाको राप्रविसंघ र जसपाको समाजवादी विद्यार्थी युनियनसँग अनेरास्ववियुले तालमेल गर्ने भएको नेकपा एमाले उर्लाबारी नगर कमिटीका अध्यक्ष गंगा बास्तोलाले जानकारी दिए ।

नेकपा एमालेले उर्लाबारीमा अन्य राजनैतिक दलसँग यसअघि पनि सहकार्य गर्दै आइरहेकाले स्ववियु निर्वाचनमा पनि विद्यार्थी संगठनहरुबीच तालमेल भएको बास्तोलाले बताए । उनले भने, ‘उर्लाबारीमा हुने विभिन्न निर्वाचनमा हामीले आफ्नो विचार मिल्ने दलहरुसँग सहकार्य गर्दै आएका छौँ । खानेपानी, विद्यालयलगायतका विभिन्न संघसंस्थाहरुमा पनि हामीसँगै मिलेर अघि बढिरहेका छौँ, त्यसैले त्यसको निरन्तरता दिन विद्यार्थीहरुमा पनि गठबन्धन भएको हो ।’

उनका अनुसार भोलि औपचारिकरुपमा गठबन्धनको घोषणा हुने छ । उर्लाबारी बहुमुखी क्याम्पसमा अनेरास्ववियुले प्रत्यक्षतर्फ सभापतिसहित कोषाध्यक्ष र चार सदस्य लिने सहमति भएको बास्तोलाले जानकारी दिए । यस्तै अखिल क्रान्तिकारीले सचिवसहित एक सदस्य, समाजवादी, राप्रविसंघ र अनेरास्ववियूले प्रत्यक्षतर्फ एक/एक सदस्य पाउने भएका छन् । समानुपातिकतर्फ भने अन्य दलहरुसँग छलफल गरेर टुंगो लगाउने उनले बताए ।

पूर्वमै अनेरास्ववियुको पकड मानिएको उर्लाबारी बहुमुखी क्याम्पसको स्ववियु सभापति हालसम्म अनेरास्ववियुले मात्र जितेको छ ।

अनेरास्ववियु मोरङका सचिव बिरेन्द्र घिमिरेले परिस्थिति अनुसार विचार मिल्ने संगठनहरुसँग सहकार्य हुने बताए । उर्लाबारीमा अनेरास्ववियुले नै तालमेलका लागि प्रस्ताव गरेको उनले बताए । ‘अनेरास्ववियुको दबदबा भएको ठाउँमा सबैलाई समेट्नु कर्तव्य हुन्छ त्यसैले सहकार्य भएको हो,’ उनले भने ।

अनेरास्ववियु क्याम्पस कमिटीका उपाध्यक्ष नितेश तिम्सिना आफ्नो संगठनले एक्लै जित्दै आएको क्याम्पसमा अन्य विद्यार्थी दलहरुसँगको तालमेलले विद्यार्थीहरुमा सकारात्मक र एकताको सन्देश प्रवाह गर्ने बताउँछन् । उनले क्याम्पसको ठूलो दलको हैसियतले अन्य दललाई सँगै लिएर जानु कर्तव्य भए पनि अनेरास्ववियुले गठबन्धन गरिहाल्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

संगठन नेतृत्वले निर्णय गरेर अघि बढाइएको गठबन्धन उपयुक्त हुने विद्यार्थी नेतृ प्रीति दाहालले बताइन् । उनी भन्छिन्, ‘स्ववियु आफैमा सम्पूर्ण विद्यार्थीहरुको प्रतिनिधि भएकाले गठबन्धन हुनुले स्ववियुप्रति विद्यार्थी संगठनहरु सकारात्मक रहेको पुष्टि हुन्छ ।’ उनले गठबन्धनप्रति सम्पूर्ण गठबन्धनका विद्यार्थी र संगठन उत्तरदायी बन्नुपर्ने बताइन् ।

अनेरास्ववियुका नेता विकास गौतम उर्लाबारीमा गठबन्धन गरिहाल्नुपर्ने परिस्थिति नभएको बताउँछन् । उनी भन्छन्, ‘उर्लाबारीमा सधैँ हामी पहिलो शक्ति हौँ, भूइँको थोत्रो सामान टिप्न खोज्दा गोजिको सामान नखसोस ।’

अनेरास्ववियुका केही नेताहरुले भने पार्टीले हस्तक्षेप गरेको आरोप लगाएका छन् । गत मंगलबार अनेरास्ववियुको सम्पर्क कार्यालय उद्धाटन गर्दै एमाले नगर अध्यक्ष बास्तोलाले स्ववियु निर्वाचनमा अनेरास्ववियुले एक्लै चुनाव जित्ने र एक्लै चुनाव जित्ने गरी खटिन विद्यार्थी नेताहरुलाई निर्देशनसमेत दिएका थिए । तर, त्यसको दुईदिन बित्न नपाउँदै अनेरास्ववियुले पाँच दलसँग गठबन्धन गर्न लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर