झापाको कनकाई नगरपालिका-३ स्थित कनकाई माध्यमिक विद्यालयको कक्षा १० का विद्यार्थी हुन् सुनसरीको धरान उपमहानगरपालिका–८ का सागर लिम्बू। जन्मजात कान नसुनेका सागरको बोली पनि छैन।

कनकाई माविको कक्षा १० मा सागर जस्तै २३ जना विद्यार्थी छन्। आगामी चैत १७ हुने एसईई परीक्षाको तयारी गरिरहेका उनीहरूलाई परीक्षामा फेल भइने हो कि भन्ने चिन्ता छ। किनकि‚ गत असोजदेखि गणित विषयको पढाइ भएको छैन।

बहिरा विद्यार्थीलाई पढाउँदै आएका गणित शिक्षक जितबहादुर बस्नेत देश बाहिर गएकाले असोजदेखि पठनपाठन नभएको हो। साङ्केतिक भाषा शिक्षक नभए पनि बस्नेतले बहिराहरूलाई पढाउँदै आएका थिए। साङ्केतिक भाषामा पढाउने शिक्षक नभएपछि उनीहरूले सामान्य विद्यार्थीसँगै बसेर गणित विषय पढे। तर‚ आफूहरूले केही नबुझेको कक्षा १० की छात्रा सोनिका गिरीको भनाइ छ। उनी भन्छिन्‚ “हाम्रो विषयगत शिक्षक हुनुहुन्न जसले गर्दा साधारण शिक्षकबाट नै पढ्नुपर्ने हुन्छ। जुन बुझ्न निकै कठिन हुन्छ।”

सुविधासम्पन्न दुईतले ठूलठूला भवन रहेको विद्यालयमा दुई हजार ५०० जना विद्यार्थी छन्। तीमध्ये ९९ जना बहिरा हुन्। झापाका विद्यालयमध्ये कनकाई माविमा मात्र कक्षा १० सम्म बहिरा विद्यार्थीलाई पढाइन्छ। अरू तीन विद्यालयमा आधारभूत तहसम्म पठनपाठन हुन्छ।

मावि तहसम्म साङ्केतिक भाषा पठनपाठन हुने कनकाई माविमा साङ्केतिक भाषाको मावि तह शिक्षकको दरबन्दी छैन। जसले गर्दा निमावि र प्रावि तहका शिक्षकले नै कक्षा ९ र १० सम्म पढाउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक कर्णबहादुर डाँगी बताउँछन्।

एउटै कोठामा तीन वटा कक्षा 
शिक्षकको अभावमा विभिन्न तहका बहिरा विद्यार्थीहरूलाई एउटै कक्षाकोठमा राखेर पठनपाठन गराउँदै आएको प्रधानाध्यापक डाँगीको बताउँछन्। आठ कक्षामा आठ, चार कक्षामा चार र दुई कक्षामा दुई ‍जना विद्यार्थी छन्। उक्त तीनै तहका विद्यार्थीलाई एउटै कोठामा राखेर पठनपाठन गरिन्छ।

“बहिरा विद्यार्थीहरूका लागि पढाउन भवनको अभाव होइन, शिक्षक अभाव छ‚” उनी भन्छन्‚ “त्यही भएर एउटै कोठामा तीन वटा कक्षा चलाइरहेका छौं।

एउटै कोठामा राखेर पठनपाठन गराउँदा समस्या हुने साङ्केतिक भाषाका शिक्षक प्रेमकुमार चापागाईं बताउँछन्। “कक्षा ४ मा पढ्नेले कक्षा २ लाई पढाएको त बुझ्छन्, तर कक्षा २ मा पढ्नेलाई कक्षा ४ को विषयवस्तु बुझ्न गाह्रो हुन्छ,” उनी भन्छन्‚ “त्यसै त हामी बहिरा शिक्षक र विद्यार्थी छौं, बुझ्न र बुझाउनै ग्राहो हुन्छ।”

२६ वर्षदेखि बहिरा विद्यार्थीलाई पढाउँदै आएका चापागाईंको पनि श्रवणशक्ति कमजोर छ। उनले कक्षा ४ र २ लाई बहुशिक्षण कक्षा चलाउँछन्। तर‚ आफूलाई अंग्रेजी विषय पढाउन कठिन हुने गरेको चापागाईं बताउँन्। उनी भन्छन्, “आफैंलाई ग्राहो लाग्ने विषय विद्यार्थी कसरी बुझ्छन् होला!”

विद्यार्थी थोरै भए पनि पढाउनुपर्ने विषय धेरै रहेकाले गाह्रो हुने शिक्षिका खेमकुमारी आचार्यको भनाइ छ। “बहिरालाई पढाउन थोरै शब्द हुन्छन्, तर पढ्नुपर्ने धेरै हुन्छ‚” उनी भन्छिन्‚ “जसले गर्दा विद्यार्थीलाई बुझ्न र बुझाउन गाह्रो छ।”

                                                                                    समस्याका चाङ
कनकाई माविमा प्रदेश १ का विभिन्न जिल्लाका बहिरा विद्यार्थी छन्। तर‚ विविध कुराको अभावले उनीहरूको पठनपाठनलाई निरन्तरता दिन नसकिने हो कि भन्ने चिन्ता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेती बताउँछन्।

“२०७८ फागुन २१ गते विशेष शिक्षातर्फका समस्या‚ रिक्त निमावि तहको दरबन्दी पदपूर्ति र मावि तहमा शिक्षक दरबन्दीको माग गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र, समावेशी शिक्षा शाखा भक्तपुरमा गएका थियौं,” उप्रेती भन्छन्‚ “तर‚ हाम्रो जान-आउन खर्च मात्रै थपियो। अहिलेसम्म कुनै उपलब्धि देखिएन।”

कनकाई नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिप्रसाद मिश्र माथिल्लो निकायबाट बेवास्ता भएको बताउँछन्। उनी भन्छन्‚ “हामीले माध्यमिक तहको दरबन्दी आवश्यक छ भन्दै सिफारिशपत्र लेख्यौं, उहाँहरू डेलिगेशन जानुभयो। तर माथिबाटै वास्ता भएन‚ हामीले के गर्न सक्छौं?” विद्यालयको छात्रावासमा ३० जना विद्यार्थी छन्। तर‚ उनीहरूलाई राख्न मुश्किल भएको प्रधानाध्यापक डाँगी बताउँछन्। “छात्रावासमा बस्ने विद्यार्थीका लागि सरकारले प्रति विद्यार्थी ४० हजार रुपैयाँ दिंदै आएको छ‚ त्यसले उनीहरूको खानेकुरा व्यवस्थापन गर्नै गाह्रो हुने गरेको छ‚” उनी भन्छन्‚ “विद्यार्थी हेरचाह गर्न कम्तीमा दुई जना वार्डेनको आवश्यकता हुन्छ, तर सरकारले त्यसको व्यवस्था गरेको छैन।”
हिमालखबर डटकम बाट …….

प्रतिक्रिया

सम्बन्धित खवर