जेठ ३०,खाेटाङ । खोटाङको केपिलासगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।नेपाल सरकारले १६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई निःशुल्क उपलब्ध गराउँदै आएको १३ वटा रोग विरुद्धको सबै खोप गाउँपालिकाका बालबालिकालाई लगाई सकेपछि बुधबार गाउँपालिकालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चिततागाउँपालिका घोषणा गरिएको हो ।
गाँउपालिका भित्रका १ सय ५६ जना बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने सबै प्रकारका खोप लगाई सकेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र खनालले बताउनुभयो ।
जिल्ला खोप समन्वय समिति खोटाङले परीक्षण गर्दा समेत गाउँपालिकाका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित भएसँगै स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेका गर्नुभएको थियो ।
नेपाल सरकारबाट निःशुल्क प्राप्त गरिने सबै प्रकारका खोप गाउँपालिकाका सबै बालबालिकाले पाएको सुनिश्चित भएपछि जिल्ला खोप समन्वय समितिले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखाले वडाका स्वास्थ्य संस्थाका कार्यरत स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविकाहरुलाई सम्मान पत्र उपलब्ध गराएको थियो।
कार्यक्रममा सहभागीले पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा तथा दीगोपना कायम गर्नका लागि सामुहिक प्रतिवद्धता पत्रमा समेत हस्ताक्षर गरिएकाे छ ।
नेपाल सरकारले लागू गरेको राष्ट्रिय कार्यक्रमलाई सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता सहित जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, सङ्घसंस्था, नागरिक समाज, पत्रकार लगायतले प्रतिवद्धता पत्रमाहस्ताक्षर गरिएकाे थियो ।
गाँउपालिकाका अध्यक्ष समिर राईको सभातित्वमा भएकाे पूर्ण खोप सुनिश्चितता पालिका घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख राई, संविधान सभा सदस्य दुर्गाजयन्ती राई, गाउँपालिकाका उपाध्यक्ष गुरूराज राई, वडाध्यक्षहरु, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चम्लागांई, नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष दिलीप खत्री लगायतको उपस्थिति रहेकाे थियो ।
यस्तै,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङ व्यस्थापन तथा केपिलासगढी गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा गरिएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेको गाउँपालिकाले जनाएको छ ।