असार २१, खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषामा पठन–पाठन सुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको बालबिकास आधारभुत विद्यालय पपचाहीमा चालु शैक्षिक–सत्रदेखि कक्षा १ बाट तिलुङ भाषाको ऐच्छिक विषय पठन–पाठन सुरु गरिएको हो ।
तिलुङ भाषाको पठन–पाठनका लागि तयार पारिएको पाठ्यपुस्तक सोमबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
तिलुङ भाषाको पठन–पाठनका लागि नगरपालिकाको आर्थिक सहयोगमा तिलुङ राई बुगाकिमले पाठ्यपुस्तक तयार पारेको हो ।
चालु शैक्षिक–सत्रबाट च्यास्मीटारकै पिपलटार आधारभुत विद्यालयमा पनि तिलुङ भाषामा पठन–पाठन सुरु गर्ने तयारी गरिएको छ । पिपलटार आधारभुत विद्यालयमा पाठ्यपुस्तक पु¥याउन बाँकी छ ।लोपोन्मुख बनेको भाषाको संरक्षण र संवद्र्धनका लागि तिलुङ भाषी विद्यार्थीको बाहुल्यता रहेको विद्यालयमा सोही विषयलाई ऐच्छिक विषयका रुपमा समावेश गरिएको हो ।
हालसम्म कक्षा ३ सम्मको पाठ्यक्रम तयार पारिसकिएको तिलुङ राई बुगाकिमले जनाएको छ । राईमध्ये कम जनसंख्या भएको र भाषा पनि लोपोन्मुख अवस्थामा पुगेको तिलुङ भाषी विद्यार्थीको बाहुल्यता भएका अन्य विद्यालयमा क्रमशः भाषाको पठन–पाठन हुने नगरपालिकाले जनाएको छ । २०७० जेठ १३ र १४ गतेको काठ्माडौंमा भएको भेलाले पहिलोपल्ट तिलुङ भाषाको बर्ण निर्धारण तथा पहिचान गरिएको थियो । वर्ण निर्धारणकाक्रममा तिलुङ भाषाका व्याञ्जन वर्णहरु २२ वटा र स्वर वर्ण ६ वटा मात्र रहेको पत्ता लागेको थियो ।
कतिपय एक वर्णले अर्को वर्णको काम गर्ने गरेका कारण वर्ण संख्या कम पाइएको हो । तिलुङ भाषामा त, थ, ढ, ध, ण, श, ष, क्ष, त्र, ज्ञ लगायतका व्यञ्जन वर्ण तथा ई, एै, औ, ऋ, अं लगायतका स्वर वर्णहरु प्रयोगमा नआउने गरेको बुगाकिमले जनाएको छ । प्रायः राई भाषामा घ, झ, ढ, भ, श, ष, क्ष, त्र, ज्ञ लगायतका वर्णहरु नभेटिने र प्रयोगमा नआउने भाषाबिदहरु बताउँछन् ।यस्तै, आफ्नो भाषालाई पुस्तकमा दस्तावेजीकरणका लागि २०७१ बैसाख तेश्रो साता च्यास्मीटारका तिलुङ भाषी बुढापाकालाई काठ्माण्डौं लगेर तिलुङ भाषाको शब्द संकलन गरिएको थियो ।
तिलुङ भाषाको संरक्षणका लागि २०६८ साल साउन ७ गते चावहिलमा भएको भेलाले पहिलोपल्ट हिमालसेर तिलुङ राईको संयोजकत्वमा तिलुङ भाषा तथा संस्कृति उत्थान समिति गठन गरेको थियो । खोटाङको च्यास्मीटार, दुर्छिम, राजापानी, धितुङ, बाहुनीडाँडा, डिकुवा तथा उदयपुरको लेखगाउँ, बाँसबोटे, रिस्कु, रुपटार, ठानागाउँ, तावाश्री, ओखलढुंगाको सल्ले, सिराहाको मुक्सार, झापा, इलाम, सुनसरी, धादिङ, काठमाडौंलगायतका ठाउँमा तिलुङ राईको बसोबास छ । बुढापाकाको अन्त्यसँगै तिलुङ भाषाको अस्तित्व संकटमा परेको छ । राम्ररी तिलुङ भाषा बोल्न जान्ने केही बुढापाकाहरु खोटाङको च्यास्मीटार र उदयपुरका केही गाउँमा मात्र बाँकी छन् । साभार ः नेपाल वाइट