भोजपुर : आमचोक गाउँपालिका–३ थिदिङखाका नरबहादुर बिश्वकर्मा र उनकी पत्नी विमलाको जायजेथाका नाममा एक त्यान्द्रो ओड्ने छानोसमेत थिएन। उनीहरू वर्षौंदेखि दाजु भक्तबहादुर बिकको घरमा आश्रय लिँदै आएका थिए ।

एक छाक टार्न दुबैजना दिनभर ज्यालामजदुरी र मेलापात गर्छन्। अब उनीहरूले नयाँ घर पाएका छन्। गाउँपालिकाले ल्याएको ‘विपन्न जनता आवास कार्यक्रम’ मार्फत् उनीहरूले सुकुम्बासी जीवनबाट छुटकारा पाएका हुन्।

‘अब अर्काको घरमा सुकुम्बासी जस्तो बस्ने जिन्दगी गए। गाउँपालिकाले हामीमाथि कृपा गरेको छ,’ विमलाले सम्झिइन्, ‘न जग्गा न पैसा, सधैँ अरूकोमा बस्दा छिमेकीले हेप्दा मन दुख्थ्यो। अब ढुक्क भइयो। दाजु भक्तबहादुरले घर बनाउन दिएको केही रोपनी पाखो जग्गामा गाउँपालिकाले एकतले आरामदायी भुकम्प प्रतिरोधी घर बनाइदिएको छ।’

जनता आवास कार्यक्रमअन्तर्गत आमचोक गाउँपालिकाले आफ्ना क्षेत्रका ७० बढी विपन्न परिवारको घर बनाएको छ। गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरी एक परिवारका लागि ३ लाख रुपैयाँमा घर बनाएको गाउँपालिका अध्यक्ष अशोक राईले बताए। ‘हामीले पुस्तौंदेखि पाल, गाईगोठमा बसिरहेका अतिविपन्न परिवारका लागि आवास बनाइदिएका छौं,’ अध्यक्ष राईले भने, ‘राज्यले पनि गाँस, बास र कपासलाई मौलिक हकमा राखेको छ। सोहीअनुरूप हामीले नीति तथा कार्यक्रम नै बनाएर घर बनाइदिएका हौं।’

२०७४ भदौमा पहिलो गाउँसभाबाट गाउँपालिकाभरका गरिब, विपन्न घरधुरीको पहिचानपछि गाउँपालिकाले आवास बनाइदिने गरी कार्यक्रम ल्याएको थियो। आवास पाएपछि नागरिक पनि दंग देखिन्छन्। ‘वर्षौंदेखिको आफ्नै घरमा निदाउन पाउने सपना आज साकार भयो,’ अर्का ७३ वर्षीय कानबहादुर राईले भने, ‘यो भन्दा खुसीको कुरा अरू छैन।’ अहिले ‘मेरो घर’ भन्न पाउँदा अर्का आमचोक–२ यूँका जिदर शेर्पा पनि हर्षित छन्।

स्थानीय सरकार बनेपछि आएको जनता आवासले गरिबका लागि स्वर्गको अनुभूति गराएको आवास पाउनेमध्ये अर्का आमचोक–६ देवानटारका जसकुमार राईले सुनाए। ‘गरिबका लागि आफ्नो घर पाउनु स्वर्ग पाए जस्तै भएको छ। सधैँ पानी चुहिने, कठ्यांग्रिने झुपडीबाट न्यानोमा ल्याइदियो,’ राईले सुनाए।

नेपाल सरकारले सबै क्षेत्रमा जनता आवासको कार्यक्रम अगाडि बढाइरहेका बेला गाउँपालिकाले पनि स्थानीय स्तरमै जनतालाई लाभ दिने कार्यक्रम ल्याएको हो। गाउँपालिकाभित्रका कमजोर आयश्रोत भएका ५ अतिगरिब तथा विपन्न परिवारलाई घर बनाइदिने घोषणा गरेको छ। गाउँपालिकाले आफ्नो पहिलो गाउँसभाबाट ‘विपन्न जनता आवास कार्यक्रम’ शीर्षकमा ३ लाख ६० हजारका दरले ५ वटा आवास निर्माण गर्न कुल १८ लाख बजेट विनियोजन गरेको थियो। त्यस्तै, गाउँपालिकाले ‘एक घर एक धारा’ अभियान पनि चलाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर