
खोटाङ । खोटाङको च्यास्मीटार पिपचाहीका नागरिकहरुको बर्सौदेखिको शुद्ध खानेपानी पिउने सपना पूरा भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार पिपचाहीका नागरिकले २०४० सालमा निर्माण गरिएको ट्याङ्की मार्फत धामी खोलाको दूषित पानी उपभोग गर्न गर्दै आएका थिए । त्यहि समस्यालाई अन्त्य गर्नको लागि नगरपालिकाको आर्थिक सहयोग र वेष्ट पानी कम्पनीको प्राविधिक सहयोगमा पिपचाहीमा एक घर एक फिल्टर निर्माण गर्ने योजना सहित २६ घर परिवार र बाल बिकास प्राथामिक बिद्यालयलाई शनिवार एक कार्यक्रमको बीच बायो स्याण्ड फिल्टर वितरण गरिएको हो ।
व्यवस्थित खानेपानीको सुविधा नहुँदा पिपचाहीका नागरिकहरुले बर्सोदेखि दूषित खानेपानी उपभोग गर्दै आएका थिए । खोलामा बगेको पानी अत्यन्तै दूषित रहेको पाइएकाले पिपचाहीका हरेक नागरिकहरुको घरमा शुद्ध पानी उपलब्ध गराउने योजना अनुसार बायो स्याण्ड फिल्टर वितरण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताउनुभएको छ । च्यास्मिटार माध्यमिक विद्यालयमा यसअघि प्रकारको फिल्टर जडान गरेर आकाशे पानी जम्मा गर्दै पिउन योग्य बनाइएको छ । उक्त प्रविधि उचित देखिएपछि पिपचाहीका नागरिकलाई पनि सोही प्रविधि प्रयोग गरेर शुद्ध पानी प्रयोग गराउने लक्ष्यसहित फिल्टर प्रदान गरिएको मेयर राईको भनाइ छ ।
पिपचाही गाउँका नागरिकले करिव ८ सय मिटर टाढा धामी खोलाबाट ल्याइएर पानी उपभोग गर्दे आएका थिए । बर्सोदेखि अत्यन्तै दूषित पानी उपभोग गर्दे आएका नागरिकहरुको हरेक घरमा फिल्टर जडान भएपछि शुद्ध पिउने पानी उपभोग गर्ने वर्षौँदेखिको सपना पूरा भएको स्थानीयबासिन्दा कबिता राईले बताउनुभएको छ । सफा, शुद्ध र स्वच्छ पिउने पानीको अभावले बिभिन्न रोगहरुसमेत लाग्ने गरेको राईको भनाइ छ ।
वितरण गरिएको फिल्टरले एक घण्टामा १० लिटरसम्म पानी प्रशोधित गर्नेछ ।१० जनासम्मको परिवारलाई पिउन र खाना पकाउन उक्त फिल्टरले प्रशोधित गरिएको पानीले उपभोग गर्न सकिने वेष्ट पानी कम्पनीका प्राविधिक इन्जिनियर गोकुल दंगालले बताउनुभएको छ । करिव २० वर्षसम्म पिपचाहीका नागरिकले उक्त फिल्टर प्रयोग गरेर शुद्ध पानी पिउन सक्ने इन्जिनियर दंगालको भनाइ छ ।
प्रशोधित गरिएको पानी पिएउदै कार्यक्रमको उद्घाटन गरिएको थियो । फिल्टर वितरण कार्यक्रममा नगरपालिकाका मेयर विमला राई, उपमेयर रमेश कुमार राउत, च्यास्मिटारका वडाध्यक्ष भुपाल सिं राई लगायतको उपस्थिति रहेको थियो ।