इलाम, २ वैशाख  ।एमाले, माओवादी, नेकपा र नेपाल परिवार दलका साझा उम्मेदवार सुहाङ नेम्बाङले आफूले कहिल्यै इलामबासीको शिर झुुक्न नदिने प्रतिबद्धता जनाएका छन् ।

इलामको फाकफोकथुम ४, आङ्चेरेङमा आज आयोजित चुनावी सभामा मतदातालाई सम्बोधन गर्दै युवा उम्मेदवार नेम्बाङले ‘सुहाङले धोका दिन्छ कि भनेर कल्पनै नगर्न’ आग्रह गरे ।

‘अहिलेसम्म तपाइँहरूले बुबा सुवास नेम्बाङलाई जति माया र विश्वास गर्नुभयो, ज्यादै धन्यवाद दिन्छु,’ सुहाङले भने, ‘म कुनै पनि हालतमा तपाइँहरूको शिर झुक्न दिने छैन, इलामबासीको शिर सधैं उँचो बनाउन लाग्नेछु ।’

उम्मेदवार नेम्बाङले क्षेत्र २ का नागरिकको एक–एक मतले सुवासलाई संविधान निर्माणसमेतको नेतृत्व गर्ने अवसर दिएको भन्दै बाध्यात्मक अवस्थामा वैशाख १५ को निर्वाचन आएको बताए । ‘तर, वैशाख १५ का लागि मलाई एमालेमात्र होइन, चार दलले विश्वास गर्नुभएको छ,’ उनले भने, ‘हजारौं मतदाताले गर्नुभएको विश्वासलाई म अर्थपूर्ण बनाउने प्रतिबद्धता गर्छु ।’

इलाम क्षेत्र २ बाट निर्वाचित प्रतिनिधिकै नेतृत्वमा देशको मूल कानुन संविधान  बनेको भन्दै उनले क्षेत्र २ का मतदाता सधैं सचेत र सजग रहेको बताए । ‘तपाइँहरूले पठाउनुभएका प्रतिनिधिले देशकै मूल कानुन बनाउन नेतृत्व लिनुभयो, धेरैखाले कानुन बनाउनुभयो,’ सुहाङले भने, ‘सबैको पहिचान झल्किने संविधान निर्माण भएको छ, सबैले अपनत्व ग्रहण गर्नेखालको संविधान निर्माण भएको छ, केही कमी–कमजोरी छन् भने सुधार्न पनि नसकिने होइन ।’

त्यतिमात्र नभई इलाम क्षेत्र २ मा बजेट र योजना ल्याउन पनि एमाले र विगतको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को महत्वपूर्ण योगदान रहेको सुहाङले बताए ।
सुहाङले इलाम क्षेत्र २ मा विकास पूर्ण भइनसकेको भन्दै विकासका आधार भने तयार भएको बताए ।

‘इलाम क्षेत्र २ मा बाटो, पुल, भवन, बिजुली, सिँचाइ, कृषिलगायत क्षेत्रका काम भएका छन् तर सबैथोक पूर्ण भइसकेको भने होइन,’ उनले भने, ‘जे–जति काम भएका छन्, सबैमा एमालेको छाप छ, जति काम बाँकी छन्, एमालेले पूरा गर्छ, म बाँकी कामको नेतृत्व लिन्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर