मंसिर ३०,तेह्रथुम । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले उजाड बन्दैं गएको गाउँलाई रहर र आशा लाग्दो बनाउने महाअभियानमा एमाले रहेको बताउनु भएको छ ।
विकास र सेवासुबिधा सहरतर्फ केन्द्रित हुँदा गाउँ उजाड बन्दै गएको बेला अध्यक्ष ओलीले बढ्दो बसाइँसराईलाई रोक्न एक मात्र विकल्प गाउँको विकास अपरिहार्य भएको बताउनु भएको छ ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १६ औँ आफ्नो जन्मघर तेह्रथुममा पुग्नु भएका अध्यक्ष ओलीले आफ्ना बालसखासँग कुराकानी गर्दै गाउँको विकास र समृद्धि सृजना गर्न एमालेले मिसन ८४ अभियान सुरु गरेको बताउनु भएकाे हाे ।
उहाँले भन्नुभयो, “स्थिर सरकार नबन्दा, गाउँको विकास हुन सकेन, जनताले दुःख पाए, वेरोजगारको संख्या बढ्यो, तसर्थ विकास र समृद्धिका लागि यो मुलुकमा एमालेको एकल वहुमतको सरकार आवश्यक रहेकाले मिसन ८४ सुरु गरेका हौं” ।
‘यति सुन्दर गाउँ आज उजाड बन्यो, मान्छे बस्ने हैन् आउनेसमेत वातावरण बनेन्,उहाँले भन्नुभयो, ‘यी सबै काम छोटो समयमा एमालेको नेतृत्वको सरकारले सुरु गरेको थियो, तर त्यसबाट अत्तालिएर पार्टी भित्र र वाहिरका अन्य शक्ति लागेर अदालतको आदेशमा ढाले ।
बालसखासँगको छोटो भेटघाटमा उनीहरुले मन फुकाएर कुरा गरेका गिए । उहाँहरू मध्ये आफुले गाउँमा व्यवसायिक कृषि सुरु गरेको तर बजार अभाव भएकाले उत्पादित बस्तु खेर गएको गुनासो सुनाउनु भयो । ओली गाउँमा पुग्दा एक बालसाखले भिडियो कल गर्नुभयो र गाउँमा बस्ने वातावरण नभएका गुनासो गर्नुभयो । ‘त्यहाँ सुनसान छ, कोही छैन अप्ठेरो छ’, उहाँले गुनासो गर्नुभयो ।
केपी ओलीको पहलमा गाउँमा बाटो पुगेको तथा प्राविधिक शिक्षालय बनेकोमा भने उहाँले खुसी व्यक्त गर्नुभयो । आफू जन्मिएको ठाउँ बनाएको भन्दै उहाँले ओलीको प्रशंसा गर्नुभयो । ओलीले आफ्नो घर जग्गा र छिमेकीको समेत किनेर प्राविधिक शिक्षालयलाई दान दिनुभएको छ, जहाँ प्राविधिक विषयका विद्यार्थी पढिरहेका छन् ।
गाउँ सुनसान भएको भन्दै फोन गर्ने साथीलाई ओलीले गाउँमा मानिस आउने र कृषि कर्मको वातावरण बनाउने योजना आफूले बनाइरहेको बताउनुभयो । ‘म योजना गर्दै छु, मान्छे आउने खालको योजना, कसरी कृषि गर्ने, यो खालको कृषिको योजना गर्दै छु’, ओलीले उहाँलाई आश्वस्त पार्नुभयो ।
उहाँले भिडियो कल गर्दा गर्दै अर्का बालसखाले ६ सय एभोकार्डो र ११ सय बोट कागती लगाएको ओलीलाई सुनाउनुभयो । ओलीले उहाँलाई तपाईहरुको कृषि क्रान्ति मन पर्यो यसलाई अझ व्यवसायिक हिसावले अघि बढाउनुस साथमा एमाले छ भन्दै आश्वस्त पार्नुभयो ।