चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच औपचारिक भेट भएको छ ।
चीनको सहर हाङचाउस्थित स्टेट गेस्ट हाउसमा प्रधानमन्त्री दाहाल र सीबीच भेट भएको हो ।
एसियाली खेलकुदको औपचारिक उद्घाटनमा सहभागी हाङचाउ पुगेका विभिन्न देशका सरकार र राष्ट्र प्रमुखसँग साइडलाइन भेट गर्ने क्रममा दाहाल र सीले भेट गरेका हुन् ।
यसक्रममा दुई पक्षीय भेटवार्ता पनि भएको छ । उक्त भेटवार्तामा नेपालका प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीकोसमेत सहभागिता थियो ।
अमेरिका भ्रमण सकेर त्यतैबाट प्रधानमन्त्री दाहाल एकसाता लामो चीन भ्रमणका लागि पुगेका हुन् । प्रधानमन्त्री दाहाल एसियाली खेलकुदको आजै उद्घाटन हुने समारोहमा सहभागी हुनेछन् ।
शनिबार हाङजाउ पुगेका प्रधानमन्त्री दाहाललाई चिनियाँ मन्त्री एवं चाइना ओलम्पिक कमिटिका अध्यक्ष जाओ जिदन र नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले स्वागत गरेका थिए ।
हाङजाउबाट प्रधानमन्त्री दाहाल आइतबार चीनको राजधानी बेइजिङ जाने कार्यक्रम छ । त्यहाँ चिनियाँ प्रधानमन्त्री ली छियाङसहितको प्रतिनिधिमण्डलसँग दुईपक्षीय वार्ता हुनेछ ।
बेइजिङपछि प्रधानमन्त्री दाहालले चोङचिङ नगर पुगेर त्यहाँको आधुनिक कृषि तथा औद्योगीकरणको अवलोकन गर्ने कार्यक्रम छ । यहाँबाट असोज १० गते उनी चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा जानेछन् । ल्हासाबाट छेन्दु गएर असोज १३ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।