नागरिक बचाउ महाअभियानको अगुवाई गरिआएका दुर्गा प्रसाईले केही नयाँ र गम्भीर खुलासा गरेका छन् । दमकमा आयोजित महाअभियान कार्यक्रममा उनले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सम्वैधानिक राजतन्त्र ल्याउने पक्षमा रहेको दाबी गरेका हुन् ।
प्रसाईले त्यति मात्रै भनेनन्, केपी शर्मा ओलीले आफू हिन्दु राष्ट्र स्थापना र संघीयता खारेज गर्ने पक्षमा रहेको बताउने गरेको दाबी पनि गरे । ओलीसँगको सल्लाहमै झापाको मेची पुलमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ल्याएर कार्यक्रम गरिएको पनि प्रसाईको दाबी छ । त्यसवेला एमालेका केन्द्रीय सदस्य थिए उनी ।
उनले आफ्नै मोबाइलबाट ओली र पूर्वयुवराज पारस शाहको कुरा गराएको पनि जिकिर गरे ।
‘केपी ओलीज्यूकै सलाहमा मैले राजा ज्ञानेन्द्रलाई मेची पुलमा ल्याएको हो,आज मैले दमकमा आएर सत्य कुरा गर्नुपर्छ । मेरै फोनबाट पारस सरकारसँग कुरा भएको हो केपी ओलीज्यूको । त्यो पनि मैले सत्य बोल्नैपर्छ । म पनि आउँछु त्यहाँ भन्नुभएको थियो’, उनको भनाइ थियो ।
ओली विरुद्ध निकै आक्रामक भएका प्रसाईले अगाडि भने, ‘मैले पनि होला भन्ने लागेर राजालाई बोलाइहालेँ । राजा पनि आउने हुनुभयो । सबै गरेपछि अहिले राजा नल्याऊ न नाति भन्नुभयो । मेरो पनि इज्जतको कुरा हो नि । म पनि कुमाई परिवारकै मान्छे हो । आठराईको पानी खाको । अनि फर्किने कुरा भएन । अहिले दमकमा आएर यो दुःखको कुरा भन्नु परेको छ । मेरा हजुरबुबालाई भन्नुपर्छ ।’
प्रसाईले मेची पुलमा पूर्व राजा आएकै दिन एमाले अध्यक्ष ओली पनि झापा आएको स्मरण गरे । ‘राजा मेची जाँदा हजुरबा पनि दमक त आउनु भएकै हो नि ? तर कसोकसो गर्दा उहाँ कार्यक्रममा आउनु भएन । त्यसपछि हिक्मत कार्की, थापा दाजुभाइले दुर्गा प्रसाईलाई कारबाही गर्नुपर्छ भनेर दबाब दिएछन् । त्यो थाहा पाउने वित्तिकै मैले हजुरबुबालाई तपाईको झोला चाहिँदैन भनेर केन्द्रीय सदस्य छोडेको हुँ,’ उनले भने ।
ओलीकै गृहनगरमा झन्डै १ घण्टा भाषण गरेका प्रसाईले ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेसका सभापति शेरबहादुर देउवालगायतको मात्रै आलोचना गरेनन्, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ‘दलाल’ भन्नसमेत भ्याए । उनले गभर्नर अधिकारीकै कारण देश टाट पल्टिँदै गएको दाबी गरे ।
अर्को प्रसंगमा प्रसाईले प्रदेशको नाम किराँत–लिम्बुवान राज्य बीचमा मिलाएर खस राज्य बनाउँदा हुने पनि बताए । ‘मेरो त संघीयतै खारेज गर्नुपर्छ भन्ने हो । यदि सकिँदैन भने किराँत–लिम्बुवान राज्य बीचमा मिलाएर खस राज्य बनाउँदा हुँदैन ? सकेसम्म हामी मिलेर बाँच्न पाए भएन ?,’ उनले भने ।
महाभियानको बन्द फिर्ता
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान– २०७९ ले घोषणा गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ । दुर्गा प्रसाई नेतृत्वको महाअभियानले शुक्रबार अर्थात चैत २४ गते नेपालको आह्वान गरेको थियो ।
हाल चलिरहेको एसईई परीक्षालाई ध्यानमा राख्दै बन्द फिर्ता लिइएको प्रसाईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर