आज ११३औं श्रमिक महिला दिवस । इमब्रेस इक्विटी अर्थात् समान हिस्सेदारीको आत्मसात् भन्ने नारासहित अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर मनाइँदै छ ।
अमेरिकाको न्युयोर्क सहरमा सन् १९०८ मा १५ हजार महिलाले आफूहरूमाथि भएको असमानता पुरुष र महिलाको काम गर्नुपर्ने समय बराबर भए पनि शारीरिक रूपमा रजस्वलाको तीन दिनसमेत घटाएर कार्य थोरै हुनुपर्ने, समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने माग भएको थियो । सन् १९१० मा भएको महिलावादी आन्दोलनसँगै अमेरिकाको समाजवादी पार्टीले पहिलोपटक राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो ।
जसका कारण श्रमिक नेतृत्वले पहिलोपटक सन् १९११ मा मनाइएको अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस नेपालमा पनि पारिजातलगायत अभियन्ताले श्रमको वकालत गर्दै अघि बढाएको मानिन्छ । सुरुमा अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्यान्डमा मनाइएको अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसलाई हामी नारी दिवसका रूपमा मनाउन थालेका छौं । नेपालमा पहिलादेखि मनाउन थाले पनि २०५८ सालमा राष्ट्रिय महिला आयोग गठनपछि २०५९ र २०६० मा आयोगकै तर्फबाट श्रमिक महिला दिवस नाम दिएर यो दिवस मनाइएको हो ।
श्रम कानुन ०७४ (दफा ४१) ले ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’का रूपमा किटान गरेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले समेत ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’का रूपमा ८ मार्च मनाउने निर्णय गरेको हो ।
महिलाहरूको सामाजिक, राजनीतिक, आर्थिक जीवन परिवर्तनमा धेरै हदसम्म भूमिका खेलेको बताइने यो अभियानले श्रमिक तथा आममहिलाको जीवनमा उल्लेख्य प्रभाव अझै पार्न सकेको छैन । उनीहरूले आजको दिवस अन्तर्राष्ट्रिय नारी नभएर श्रमिक महिला दिवस रहेको दाबी गर्छन् ।
जिफन्टी पूर्वअध्यक्ष एवं वैदेशिक महिला रोजगार जानकार डा. विन्दा पाण्डेयले श्रमिक महिला दिवसलाई नारी दिवस भने सन्् २०११ मा लागु भए पनि लक्ष्य पूरा नहुने भएकाले पुरानै दिवसका रूपमा मनाउनुपर्ने सुझाउँछिन् । ‘श्रमका लागि आन्तरिक तथा बाह्य क्षेत्रमा बसाइसराइजस्तै स्थान परिवर्तन गर्दा महिला केही कुरामा पीडित नहोस् भनेर आवाज उठाउन दिवस मनाउन थालिएकाले, श्रमिक महिलाका पक्षमा नारी नभनेर श्रम गर्ने महिलामा जोड दिनुपर्नेछ,’ उनले भनिन् ।
आधिकारिक मान्यता दिएको संयुक्त राष्ट्रसंघले सन् १९७५ लाई नबिर्सने हो भने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भनेर अहिले पनि लागु हुनुपर्ने मानवशास्त्री डा. मीना पौडेलको भनाइ छ । पौडेलका अनुसार श्रमिक महिला दिवसको मार्च ८ तारिखमा मिति पर्ने मुख्य कारण महिला आन्दोलन सुरु भएको मिति जुलिअन पात्रोअनुसार फेब्रुअरी २३ लाई ग्रेगोरियन पात्रोअनुसार मार्च ८ मा पर्ने भएकाले आन्दोलनको सुरुको दिन आज मार्च ८ मा नै श्रमिक महिला दिवस मनाउन थालिएको हो । जुलियन र ग्रेगोरियन पात्रोमा १३ दिनको फरक हुन्छ ।
दिवस वर्षमा एक दिन मात्र नभएर अधिकारको कार्यान्वयन हुन आवश्यक छ । पछिल्लो समय महिलाहरूको जागरुकता बढ्दै गएको छ । राजनीतिक सहभागिता, पैतृक सम्पत्तिमा समान हक, घरेलु श्रमको गणनाको संवैधानिक प्रावधान, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा विशेष व्यवस्था छ ।
महिलाहरू अहिलेको अवस्थामा मातृत्व संरक्षण, यौनअधिकारमा बलियो हुँदै गएका छन् । महिलाविरुद्ध हुँदै आएका छाउपडी, बोक्सा–बोक्सी, दाइजोलगायत विभेदपूर्ण व्यवहारविरुद्ध राज्यको हस्तक्षेपकारी भूमिका बढेको छ । सामाजिक रूपमा महिला चेतनामा आएको परिवर्तनसँगै सार्वजनिक गतिविधिमा महिला सहभागिता र सफलता धेरथोर प्राप्त भएकै छ ।