खोटाङ, ११ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तेस्रो अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरुवात् गरेको छ । शुभम् फाउण्डेशनद्धारा सञ्चालित जनजागृति माध्यमिक विद्यालय सोल्मासँगको सहकार्यमा आयोजना गरिएको प्रतियोगितामा नगरपालिकाभित्रका २४ वटा माध्यमिक विद्यालयका विद्यार्थीले सहभागिता जनाएका छन् ।

दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा आयोजना गरिएको प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, सितोरियो कराँते र तेक्वान्दोगरि पाँच विद्या तथा ४९ इभेन्टमा ९८ स्वर्ण, ९८ रजत र १२२ रजतगरी ३१८ पदकका लागि प्रतिस्पर्धा गराइने सहआयोजक जनजागृति माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सूर्यबहादुर राईले जानकारी दिनुएको छ । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विजयी विद्यार्थीलाई पदक र प्रमाणपत्र, प्रत्येक विद्यामा विजयी विद्यालयलाई ट्रफी र प्रमाणपत्र तथा समग्रमा पालिका प्रथम हुने विद्यालयलाई रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि नगरपालिकाको रु दश लाख तथा सहआयोजकको रु तीन लाख ७४ हजार १५० गरि जम्मा रु १३ लाख ७४ हजार १५० खर्च हुने अनुमान गरिएको नगर शिक्षा शाखाका कर्मचारी सुवासचन्द्र राईले जानकारी दिनुभएको छ । प्रतियोगितामा सहभागी विद्यालयलाई खेल सामग्री तथा यातायात भाडाका लागि आवश्यक बजेटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको औपचारिक उद्घाटन आज शुक्रबार कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ले ब्यानरसहितको बेलुन उडाएर गर्नुभएको छ । प्रतियोगिता उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री राईले खेल क्षेत्रको समग्र विकासमा प्रदेश सरकार प्रतिवद्ध रहेको जानकारी दिनुभएको छ । “खेलकुदले खेलाडीको व्यक्तित्व विकासमात्र नभइ देशलाई समेत विश्वसामू परिचत गराउँछ । खेल क्षेत्रको विकासमा प्रदेश तथा सङ्घीय सरकारले लगानी गरिरहेको छ”, उहाँले भन्नुभयो, “खेल क्षेत्रको समग्र विकासका लागि विद्यालयहरुले पठनपाठनसँगै खेलसँग सम्बन्धित गतिविधि नियमित सञ्चालन गर्न आवश्यक छ । सानै उमेरदेखि खेल क्षेत्रमा लागेका व्यक्तिले मात्र सफलता हाँसिल गर्न सक्छ ।”

प्रतियोगिता उद्घाटन कार्यक्रममा विभिन्न जातजातिको साँस्कृतिक झाँकी तथा खेल कौशलहरुसमेत प्रस्तुत गरिएको थियो । माटीकोरे खेलमैदानमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्लाको दिक्तेल बजारमा खेलकुद महोत्सवको झल्को दिएको छ ।

अन्तर माध्यमिक विद्यालयस्तरीय प्रतियोगितामा छनोट भएका विद्यार्थीले नवौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने जनाइएको छ । दश स्थानीय तह रहेको जिल्लाका सबैभन्दा ठूलो स्थानीय तह रहेको यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तेस्रो पटक अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्न लागेको हो ।

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजयी विद्यार्थीले प्रदेश तथा राष्ट्रियस्तरको १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने छन् । दिक्तेल बजारमा सञ्चालन हुने नवौँ जिल्लास्तरीय प्रतियोगिताको मिति भने, अहिलेसम्म टुङ्गो लागेको छैन ।

नवौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि जिल्लाका दशवटै स्थानीय तहले धमाधम पालिकास्तरीय प्रतियोगिता सञ्चालन गरिरहेका छन् । खोटेहाङ गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकाले भने, यसअघि नै सम्पन्न गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय