झापा — संकटा क्लब काठमाडौँ झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आयोजक भद्रपुर ब्लेजर्सलाई १–० गोलले पराजित गर्दै संकटा अन्तिम चारमा प्रवेश गरेको हो । मेची रंगशालामा मंगलबार भएको पहिलो क्वार्टर फाइनल खेलमा संकटाका मनिष डाँगीले गरेको गोल नै निर्णायक भयो । उनले खेलको पाँचौँ मिनेटमा गोल गरेका थिए । घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको भद्रपुर ब्लेजर्सले आक्रमक खेल खेले पनि पराजित हुन पुग्यो । आयोजकले खेल अवधिभर दर्जन भन्दाबढी अवसर बनाउँदा पनि सदुपयोग गर्न सकेन । सुरुवातमै दबाबमा परेको आयोजक गोल गर्न चुक्दा क्वार्टर फाइनलबाटै बाहिरनुपर्यो । आयोजक भद्रपुर ब्लेजर्सका दुई गोल बारमा ठोकिएर फर्कियो । पहिलो गोलपछि भने संकटाले थप गोल गर्न सकेन । त्यसपछि संकटाले रक्षात्मक खेल खेल्यो ।
प्लेयर अफ द म्याच चर्च संकटाका गोलरक्षक टिकेन्द्रसिंह थापा घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । बुधबारको क्वार्टर फाइनल खेल चर्च ब्वाइज र गत वर्षको लिग विजेता मछिन्द्र क्लबबीच हुने आयोजक भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए । प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर