खोटाङ  । हलेसी तुवाचुङ नगरपालिकाले महिलाहरुको पाठेघर जोगाउन स्वास्थ्यकर्मीलाई प्रत्येक घरमा पठाउने भएको छ । नगरपालिकामा पाठेघर ९आङ० खस्ने समस्या भएका महिलाहरु अत्यधिक रहेकाले त्यसको उपचारका लागि प्रत्येक घरमा स्वाथ्यकर्मी खटाउन लागिएको नगरपालिकाले जनाएको छ ।

महिलाहरुको पाठेघरको उपचारका लागि नगरपालिकाले तीन चरणको कार्यक्रम तयार गरेको छ । पहिलो चरणको कार्यक्रम अन्तरगत शुक्रबार नगरपालिकाभित्रपर्ने ११ वटै वडामा कार्यरत स्वास्थ्यकर्मीलाई भेला गरेर तालिम दिएको छ ।

पाठेघरको रोग पहिचान र त्यसको उपचार सम्बन्धि सुनौलो परिवार नेपाल संस्थाबाट प्रशिक्षक ल्याएर नगरपालिकाका स्वास्थ्यकर्मीलाई तालिम दिइएको नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले जानकारी दिनुभयो । दोस्रो चरणको कार्यक्रम अन्तरगत तालिम लिएका स्वास्थ्यकर्मीहरु आगामी माघ–१ गतेदेखि ९ गतेसम्म नगरपालिकाको प्रत्येक घरमा पुग्ने जनाइएको छ ।

एकजना सहयोगी लिएर स्वास्थ्यकर्मीहरु आफ्नो वडाको प्रत्येक घरमा पुगेर महिलाहरुको पाठेघर परीक्षण गर्नेछन् । परीक्षण पश्चात पाठेघर अर्थात ९आङ० खस्ने समस्याको पहिलो र दोस्रो चरण भएमा स्वाथ्यकर्मीहरुले तत्काल रिङप्रेसरी लगाउने लगायतका उपचार गर्नेछन् । ९आङ० खस्ने तेस्रो वा चौथो चरण पुगेको अवस्थामा शल्यक्रिया मार्फत उपचार गर्नुपर्ने भएकाले त्यस्ता महिलाहरुको तथ्याङ्क सङ्कलन गरिने स्वास्थ्य शाखा संयोजक घिमिरेले जानकारी दिनुभएको छ ।

कार्यक्रमको तेस्रो चरण अन्तरगत जिल्ला अस्पताल दिक्तेलमा बाहिरबाट दक्ष चिकित्सक ल्याएर उक्त महिलाहरुको शल्यक्रियामार्फत उपचार गरिने जनाइएको छ । ब्लड बैङ्क जिल्ला अस्पतालमा भएकाले नगरपालिकाले आफ्नो लगानीमा दिक्तेलमा ल्याएर ९आङ० खस्ने तेस्रो वा चौथो चरण पुगेकाका महिलाहरुको उपचार गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य शाखाले जनाएको छ ।

दिक्तेलमा सम्भव नभएको खण्डमा अन्य सुविधा सम्पन्न अस्पतालमा लगेर भएपनि नगरपालिकाले पाठेघर खस्ने समस्या भएको महिलाहरुको निःशुल्क उपचार गरिदिने नगर प्रमुख विमला राईले बतानुभयो । “मानव बस्ने पहिलो घर पाठेघर भएकाले त्यसलाई जोगाउन नगरपालिका लागेको छ”, उहाँले भन्नुभयो, “पाठेघर खस्ने समस्या सबै उमेरका महिलाहरु हुने रहेछन् । विशेषगरी उमेर बढ्दै गएपछि वृद्धावस्थाका आमाहरुमा यस्तो समस्या बढी देखिको छ ।”

“अघिल्लो आर्थिक वर्ष विभिन्न ठाउँमा शिविर सञ्चालन गरेको थियौँ । उक्त समयमा स्वास्थ्यकर्मीले खिचेका पाठेघर खसेको तस्वीर हेर्दा मन धेरै दुख्यो” नगर प्रमुख राईले भन्नुभयो, “हामी जनप्रतिनिधिले आफ्नो नगरपालिकाभित्रका नागरिकको दुःख बुझ्नु पर्छ भनेर यो कार्यक्रम शुरु गरेका हौँ ।”

नगरपालिकाले अघिल्लो आर्थिक वर्ष बाहुनीडाँडाको झाप्पा, अर्खौलेको नवलपुर, सल्ले र मङ्गलटार गरी चार ठाउँमा पाठेघर खसेका महिलाहरुको उपचारका लागि शिविर सञ्चालन गरेको थियो । महिलाहरुमा उक्त समस्या धेरै देखिए पनि विभिन्न कारणले शिविरमा कम उपस्थित भएकाले घरमै गएर समस्या पत्ता लगाउँदै उपचार गर्ने कार्यक्रम तयार पारिएको नगरप्रमुख राईले बताउनुभयो ।

नगरपालिकामा लामो समयदेखि पाठेघर सम्बन्धी समस्या भएपनि समाजले नकारात्मक दृष्टिले हेर्ने डरले महिलाहरु रोग लुकाएर बस्ने गरेको पाइएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा अधिकांशले कम उमेरमा विवाह गर्नाले पनि पाठेघर सम्बन्धी समस्या देखिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर