खोटाङ  । हलेसी तुवाचुङ नगरपालिकाले अविरल वर्षासँगै आएको बाढी तथा पहिरोबाट भएको क्षतिको विवरण सङ्कलन गर्न थालेको छ । यही असोज–१० गतेदेखि तीन दिनसम्म परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले नगरपालिका क्षेत्रभित्र पर्ने विभिन्न ठाउँमा ठूलो क्षति गरेपछि नगर प्रमुख विमला राई आफै प्राविधिक टोली लिएर स्थालगत अनुगमनमा निस्कनुभएको हो ।

बाढी तथा पहिरो पीडितको अवस्था बुझेर राहत तथा उद्धारको व्यवस्था मिलाउन स्थलगत अनुगमनमा निस्किइएको नगर प्रमुख राईले बताउनुभयो । “हाम्रो नगरपालिकाका अधिकांश वडाहरु दूधकोशी तथा सुनकोशी नदीको तटीय क्षेत्रमा पर्छन् । त्यस क्षेत्रहरुमा यस पटकको बाढी तथा पहिरोले ठूलो क्षति गरेको छ”, उहाँले भन्नुभयो, “बाढी तथा पहिरो पीडित स्थानीय बासिन्दाको अवस्था बुझेर राहत तथा उद्धार के गर्नुपर्ने हो । त्यसका लागि स्थलगत अनुगमन शुरु गरेका हौँ ।”

नगर प्रमुख राई नेतृत्वको टोलीले आज ९बुधबार० वडा नं। १ बाहुनीडाँडास्थित जयरामघाट आसपासका स्थानीय बासिन्दाको घर तथा गोठमा भएको क्षतिको विवरण सङ्कलन गरेको छ । यही असोज–१२ गतेम्म परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले जयरामघाटमा मात्रै दर्जनबढी घर तथा गोठमा क्षति गरेको पाइएको नगर प्रमुख राईले जानकारी दिनुभएको छ ।

असोज–१२ गते दिउँसो झरेको पहिरोले जयरामघाटका स्थानीय दिनेश राईको घर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । घरमाथिबाट झरेको पहिरोले ढुङ्गामाटोले बनेको घर बगाएपछि छ जनाको राई परिवार विस्थापित भएका थिए ।

पहिरोबाट विस्थापित राई परिवारलाई स्थानीय बासिन्दा तथा प्रहरीको टोलीले उद्धार गरेर सुरक्षित ठाउँमा रहेको चर्चमा राखेको छ । उनीहरुका लागि नगरपालिका तथा वडा कार्यालयले खाने तथा बस्ने व्यवस्था मिलाइ दिएको जनाइएको छ ।

दश स्थानीय तह रहेको खोटाङमा यसअघि यही असोज–१२ गतेसम्म परेको भारी वर्षासँगै आएको बाढी तथा पहिरोका कारण जिल्लाका १३५ जना स्थानीय बासिन्दा विस्थापित भएका छन् । जिल्लाका विभिन्न ठाउँमा आएको बाढी तथा पहिरोले ३३ वटा घर पुरिँदा विस्थापित बनेका उनीहरुलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।

अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा आएको बाढी तथा पहिरोले दुई जना स्थानीयबासी घाइते हुनुका साथै ३८ वटा घरमा आंशिक क्षति गरेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभएको छ । बाढी तथा पहिरोका कारण करोडौँको क्षति भएको यस जिल्लामा मानवीय क्षति नभएपनि १८ वटा पशुचौपाया पुरिएर मरेको जनाइएको छ ।

बाढी तथा पहिरोबाट जिल्लामा सञ्चालित विकासे योजना बाहेक मानिसका घरमा भएको क्षतिमात्र रु ७९ लाख ९९ हजार बढीको भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । बाढी तथा पहिरोले जिल्लामा सञ्चालित विकासे योजनाहरु खानेपानी, सिँचाइ, विद्युत लगायतमा समेत ठूलो क्षति पुगेको कार्यालय प्रमुखहरुले बताएका न् ।

भीषण बाढीका कारण खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल तथा खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाट, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट, खोटाङ र उदयपुरकै धाप्लाङघाट, जन्तेढुङ्गा गाउँपालिका–१ रमिते र उदयपुर जोड्ने मैनाटार तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटको झोलुङ्गे पुलमा क्षति पुगेको छ । वि।सं। २०७९ सालमा निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको फोक्सिङटारको मोटरेबल पक्की पुल तथा अन्य पाँचवटा झोलुङ्गे पुलहरु गत शनिबार दिउँसो आएको बाढीले बगाएको हो ।

दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने आर्क डिजाइनको मोटरेबल पुल बगाएपछि सिधा यातायात सम्पर्क विच्छेद भएको हो ।

अविरल वर्षाका कारण अवरुद्ध बनेका जिल्लाका सबै ग्रामीण सडक अझै सञ्चालनमा आएको छैन । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्ड भने, पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर