भारतीय फिल्मका पोस्टरले नेपालका सहर बजार रंगीएका दृष्यसँग अभ्यस्त छौं हामी । पोस्टर मात्र होइन, नेपालका हलहरु नै प्रायः भारतीय फिल्मको कब्जामा हुन्छन्, चाहे ती बलिउड फिल्म हुन् वा साउथ इन्डियन । त्यसैले बलिउडको मुटुमा नेपाली फिल्मको उपस्थिति मात्रै देखिनु पनि हाम्रो लागि सुखद आश्चर्य हो । तर, अहिल्यै खुशी मनाइहाल्नु चाहिँ अलिक हतारो हुने छ ।
कोमल नहाटा, तरन आदर्श, रमेश बाला जस्ता ट्रेड एनालिस्ट तथा समीक्षकहरुले सोसल मिडियामा ‘प्रेमगीत’ बारे लेखेर फिल्मको ग्राफलाई उँचो बनादिएका छन् । सेप्टेम्बर २३ अर्थात् दशैंको छेकोमा रिलिज हुने फिल्मले नेपालमा हाइप मात्रै पाइरहेको छैन, दर्शकलाई व्यग्र पनि बनाइरहेको छ ।
तर, नेपाली फिल्म भन्नाले केलाई भन्ने ? नेपाली फिल्म क्षेत्र बलिउडको धङधङीबाट माथि उठ्न सकेको छैन । बलिउडबाट मुक्त हुने प्रयास भएका फिल्मले दर्शक पाएका छैनन् । सस्तो कमेडी, लोकालिटीको नाममा सतही अध्ययन, संस्कृतिको नाममा दुई थान थोत्रा लुगा र छोटेमोटे स्थानीय लवजमा अल्झिएका नेपाली फिल्महरुले खास नेपाली फिल्मको पहिचान खडा गर्न सकेका छैनन् । छिटफुट प्रयास भए पनि विश्व सिनेमामा बेग्लै अखडा बनाएर आफ्नो छुट्टै संरचना र भाष्य निर्माण गर्न सकिरहेका छैनन् । नेपालभन्दा पछि फिल्ममा छिरेका अन्य मुलुकहरुले आफ्नो अनुहार बनाइसक्दा नेपाली फिल्मले किन बनाउन सकेको छैन ? बहस, विमर्श हुँदै जाला ।
यही बीचमा ‘प्रेमगीत ३’ बलिउड पुग्दैछ । एकातिर यो खुसीको बात भइगयो । अर्कातिर चुनौतीका चाङ लम्बेतान छन् । बलिउड पुग्नु मात्रै खुसी हो कि त्यहाँ ‘प्रेमगीत ३’ले दरिलो प्रभाव छाड्नु हो ? यसको उत्तर सेप्टेम्बर महिनाको अन्तिम अन्तिम दिनतिर प्राप्त हुनेछ । यदि हलमा लागेको भोलिपल्टै उत्रियो भने अहिलेको खुशी क्षणिक मात्र हुन सक्छ । फिल्म कस्तो छ, र यसले भारतीय दर्शक तान्ने क्षमता राख्छ कि राख्दैन भन्ने अहम् प्रश्न हो । अरबौं बजेटमा बनेका विश्वव्यापी क्रेज भएका स्टारहरुले भरिएका भारतीय फिल्मसँग टक्कर गरेर प्रेमगीतले दर्शक तान्नु पक्कै पनि फलामको च्यूरा चपाएसरह हुनेछ ।
लेखक तथा समीक्षक सामिप्यराज तिमिल्सिनाका अनुसार यस घडीमा हामीले साउथका फिल्महरु ‘आरआरआर’, ‘पुष्पा’ जसरी चल्यो, त्यसैगरी चल्ला भनेर सोचिहाल्दा हाम्रै सोचहरुको दुर्घटना हुनेछ । तिमिल्सिनाको भनाइ छ, ‘साउथ फिल्मले त्यसरी व्यापार गर्नुमा हामीले उनीहरुलाई टिभीमा लामो समयदेखि हेरिरहेका छौं । साउथको स्टारहरुलाई चिनिरहेका छौं । १०–१२ वर्षदेखि उनीहरुको बजार तयार हुँदै गएको थियो । त्यसकारण हामी र बलिउडले स्वीकार गरेको हो ।’
तिमिल्सिनाको थप तर्क छ, ‘बलिउडले न अनमोल केसी चिनेको छ, न प्रदीप खड्का । हामीले साउथले जसरी बजार हल्लाउन सक्छौं भनेर सोचिहाल्नु हुँदैन । तर, यसलाई एउटा सुरुवात मानेर त्यही लेभलको कन्टेन्ट रेगुलर दिन सक्यौं भने त्यहाँसम्म पुग्छौं होला । हामी जुन स्केलको फिल्म बनाउँछौ, त्यो स्केलको फिल्म उनीहरुले बनाइरहेका छन् । ग्राउण्डमा कम्पिट गर्न सक्दैनौं । फिल्मले कुन प्रकारकोे फ्याक्चुअल नतिजा ल्याउँछ, त्यसअनुसार नेपाली फिल्म अगाडि जान्छ । होइन भने सामाजिक संजालमा खुसी मनाउनु शिवाय केही हुँदैन ।’
नेपालकै कथा, नेपालकै लोकेसन, नेपालकै कलाकार, नेपालकै प्राविधिकले निर्माण गरेको फिल्म बलिउडसम्म पुग्नु एक सिँढी सफलता पक्कै हो । चाहे फिल्मले धमिलो र साँघुरो रेखा मात्रै कोरोस्, त्यसले भविष्यमा असर देखाउनेछ । हलिउड, बलिउड र साउथ फिल्मलाई वर्षौंदेखि हेरिरहेका दर्शकका लागि ‘प्रेमगीत ३’ले कस्तो स्वाद पस्कनेछ, रिलिज भएपछि मात्रै यकिनका साथ भन्न सकिनेछ ।
त्यसैले त निर्माता तथा निर्देशक सेन लेख्छन्, ‘हाम्रो मिहेनत बलिउड बजारमा मात्रै होइन, संसारका अत्याधुनिक दजनौं मल्टिप्लेक्समा नयाँ मेनुको रुपमा पुग्दैछ । यदि सबैको रोजाइमा पर्यो भने हाम्रा परिकार मज्जाले बिक्नेवाला छ ।’
बलिउड रिलिजले राख्ने प्रभावबारे सेनको आँकलन छ, ‘यसले नेपाली फिल्मको विश्वयात्राको ढोका खोलिदिएको छ । आशा छ, त्यो ढोकामा चुकुल लाग्ने छैन । हामीले शसक्त दबदबा कायम राखिराख्न दर्शकको आँखामा छारो हाल्ने काम गर्नुहुँदैन ।’ सेनको इंगित छ, यदि बलिउडको बजारमा नेपाली फिल्मले खुट्टा राखिरहने हो भने फिल्म रिलिजअघि नै लगानी सुरक्षित मात्रै हुने छैन, ओटीटीमार्फत् करोडौं फाइदा पनि हुनेछ ।
तीनचार करोड बजेटमा बन्ने नेपाली फिल्मले मिनिमम ग्यारेन्टीको रुपमा पाँच सात करोड भारतीय बजारबाट सजिलै उठाउन सक्छन् । पाँच सात करोड सुनिश्चित हुनसाथ नेपाली फिल्मको निर्माण बजेट पनि बढेर जानेछ । झनै राम्रो क्वालिटीको फिल्महरु बन्नेछन् । राम्रो प्रविधि उपयोग गर्ने सहुलियत पनि प्राप्त हुनेछ । नेटफ्लिक्स, अमेजनजस्ता ओटीटी प्ल्याटफर्मको आँखा पर्नेछ । यसले अन्ततः नेपाली फिल्मको सुदूर भविष्यलाई जरुर सुन्दर बनाउनेछ । त्यसको पहिलो कदम ‘प्रेमगीत ३’ले चालिरहेको छ ।
नेपाली फिल्महरु भारतमा रिलिज नभएका होइनन् । अस्ति भर्खरै नेपालमा राम्रो व्यापार गरेको ‘कबड्डी ४’ भारतमा रिलिज भयो । ‘हजार जुनीसम्म’, ‘आप्पा’ पनि भारतमा रिलिज भयो । ‘कुसुमे रुमाल’, ‘मायालु’ जस्ता पुराना नेपाली फिल्म दार्जिलिङ सिक्किममा रिलिज भएका थिए । तर, हिन्दी भाषामा डब भएरै हलमा रिलिज भएको ‘प्रेमगीत ३’ पहिलो नेपाली फिल्म हो ।
नेपाल–भारत सहकार्यमा पनि ०४१ सालमा नेपालले बंगाली मुलका निर्देशक बासु भट्टाचार्यसँग मिलेर ‘पंचवटी’ नामक सिनेमा बनाएको थियो । शाही चलचित्र संस्थान र भट्टाचार्य मिलेर बनाइएको उक्त फिल्म जेठाजु–बुहारी सम्बन्धमा आधरित रहेका कारण नेपालका हलमा रिलिज हुन दिइएन । फिल्म भारतमा प्रदर्शन भए पनि नेपालको भने नौ लाख लगानी डुबेको समीक्षक तिमिल्सिना बताउँछन् ।
अहिले फेरि नेपालमै बनेको ‘प्रेमगीत ३’ भारत पुगेको छ, हिन्दीमा डब भएर । फिल्मले भारतमा कस्तो व्यापार गर्ला, भन्न सकिँदैन । तर, फिल्मको हाइपले नेपालमा भने राम्रो व्यापार गर्ने कुरामा द्धुविधा छैन । भारतमै पनि लगानी करिबकरिब सुरक्षित भइसकेको सेनको दाबी छ । यसले के देखाउँछ भने यदि नेपाली फिल्म भारतको बजारमा मात्रै पुग्ने हो भने रहरले फिल्म निर्माण गरेर निर्माताहरु लापत्ता हुनु पर्दैन । फिल्म डुबेको खण्डमा निर्माताहरु सडकमा आइपुग्नु पर्दैन ।
त्यसैले त होडिङ बोर्डको फोटो पोस्ट गर्दै अभिनेत्री सुरक्षा पन्त लेख्छिन्, ‘सिनेमा कस्तो हुने हो, त्यो पक्कै हेर्न बाँकी छ । तर, एउटा कठिन पाटो छ पर्दापछाडि दौडधुपको । चाहे आर्थिक रुपमा होस् या मानसिक । सन्तोष सेन जी र टिमले जुन प्रयास गर्दै नेपाली सिनेमालाई यो होडिङ बोर्ड र सिनेमा घरसम्म पुर्याउने काम गर्नुभएको छ, त्यो प्रशंसनीय हो । आँट्नु धेरै ठूलो कुरा हो ।’ सँगै निर्देशक दिपेन्द्र के खनालले बलिउड नगरीमा नेपाली फिल्मको उपस्थिति देखिँदा खुसी प्रकट गरेका छन् ।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले पनि भारतमा ‘प्रेमगीत ३’ रिलिज हुनु खुसीको कुरा रहेको उल्लेख गरेका छन् । फिल्मले इतिहास लेख्ने र नेपाली फिल्म उद्योगलाई अझैं विस्तारमा लैजाने अपेक्षा व्यक्त गरेका छन् । तमाम चुनौतीका बीच नेपाली फिल्म बलिउड पुग्नु एक प्रकारको उपलब्धि छँदैछ । तर, यस फिल्मको चुनौती यतिमै सकिएको छैन । रिलिजपछि कस्तो प्रदर्शन गर्ला, त्यसले नेपाली फिल्महरुको भविष्यलाई दिशानिर्देश पक्कै गर्ने छ । नेपाली फिल्मको अपार ढोका यस फिल्माको व्यापारले पक्कै खोल्नेछ । साभार ः नेपाल प्रेस