खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । नेपाल सरकारले १६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई १३ वटा रोगविरुद्धको खोप गाउँपालिकाका सबै बालबालिका लगाई सकेपछि बिहिबार गाउँपालिकालाई औपचारि करुपमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समिति खोटाङले परीक्षण गर्दा समेत गाउँपालिकाका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित भएसँगै गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गर्नुभएको हो ।
गाउँपालिका भित्रका ६९० जना बालबालिकालाई सरकारबाट निःशुल्क प्राप्त हुने सबै प्रकारका खोप लगाई सकेपछि पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सचिन श्रेष्ठले जानकारी दिनुभएको छ । कार्यक्रममा सहभागीले पूर्ण खोप सुनिश्चतता गाउँपालिका घोषणा तथा दीगोपना कायम गर्नको लागि सामुहिक प्रतिवद्धता पत्रमा समेत हस्ताक्षर गरिएको थियो ।
गाउँपालिकाका अध्यक्ष गीरेन्द्रबहादुर राईको अध्यक्षतामा भएको पूर्ण खोप सुनिश्चितता पालिका घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, गाउँपालिकाका उपाध्यक्ष राजेश कुमार राजभण्डारी,स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाई र निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार राजभण्डारी लगायतको उपस्थिती रहेको थियो ।
नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तरगत खोटाङ जिल्लालाई आगामी असार–१० गतेभित्र पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाईँले जानकारी दिनुभएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नियमित खोप लगाउने १२ हजार बालबालिका रहेको कार्यालय प्रमुख चौलागाईँले जानकारी दिनुभएको छ ।
नेपाल सरकारले जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापनिज इन्सेफइटिस लगायतका १३ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । जन्मेदेखि दुई वर्षभित्रका ९५ प्रतिशत बालबालिका सबै प्रकारका खोप पाएको खण्डमा सरकारले पूर्ण खोप सुनिश्तिता भएको घोषणा गर्ने गरेको छ ।