असार २४ ,खोटाङ । ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाको पावरहाउसस्थल पुग्ने सडक निर्माणका लागि समझदारी कायम गरिएको छ ।

खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने जलबिद्युत आयोजनाको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा रहने पावरहाउस पुग्ने सडक निर्माणका लागि समझदारी कायम गरिएको हो ।

नेपाल विद्युत प्राधिकरण, दुधकोशी जलाशययुक्त आयोजना र हलेसी तुवाचुङ नगरपालिकाबिचमा बिहिबार धितुङको रातेखोलादेखि बैखुखोलासम्मको साँढे ३ किलोमिटर कन्ट्रक्सन एक्सेस रोडको ट्र्याक खोल्नका लागि समझदारी–पत्रमा हस्ताक्षर भएको छ ।

एक करोड बराबरको बजेटमा उपभोक्ता समितिमार्फत जलबिद्युत आयोजनाको पावरहाउस स्थल पुग्ने सडक निर्माण गरिने र उपभोक्ता समितिले १० प्रतिशत लगानी गर्ने समझदारी भएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताईन् । निर्माणस्थलसम्म पुग्न र फर्कनका लागि करिब ९ महिनामा एक्सेस रोड बनाउने समझदारी–पत्रमा उल्लेख छ ।

लामीडाँडाको रँभुवाबजारमा २०० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३।३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत उत्पादन गर्ने लक्ष्यका साथ नेपाल सरकारले आयोजनाको काम अघि बढाएको हो ।

हाल बहुचर्चित दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाले ओगट्ने खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका जग्गा अधिग्रहणको प्रकृया अघि बढाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर