झापा — झापाको दमक नगरपालिका वडा नम्बर ९ का १२ जना महिला मिलेर गठन गरिएको अन्नपूर्ण महिला अचार उत्पादन समुहले ब्यवसायिक उत्पादन सुरु गरेको छ ।
सोही वडामा रहेको सेतुमारी कृषि सहकारी संस्थाले राष्ट्रिय सहकारी बिकास बोर्ड पुल्चोक ललितपुरको आर्थिक सहयोगमा महिलाहरुलाई अचार बनाउने तालिम दिएको थियो । सो तालिमबाट छनोट गरिएका १२ जनाको एउटा समुह बनाएर सुरु गरिएको मिक्स अचार उत्पादनले अहिले व्यवसायिक रुप लिएको समुहकी संयोजक छत्रमाया पौडलले बताईन ।
सिजन अनुसारका तरकारीबाट उत्पादन गरिने मिक्स अचारको बजार व्यवस्थापन भने सहकारी आफैलेपनि गरिरहेको सेतुमारी कृषि सहकारी संस्थाका व्यवस्थापक दिपक खनालले जानकारी दिए । तालिम पश्चात सुरु गरिएको कामबाट मिहिनेत अनुसारको आम्दानी पनि हुने देखेपछि आफुहरु झन् सक्रिय भएर लागेको समुहकी सदस्य मध्येकी एक कमला दाहालले सुनाईन ।
यस्तै सोही समुहकी सदस्य शाबित्रा भट्टराई आर्थिक रुपमा समेत यो कामबाट टेवा पुग्ने गरेको बताउँछन् । बजारमा मिक्स अचारको माग बढेपछि उनीहरुले आफ्नो उत्पादनको मात्रा समेत बढाउदै लगेका छन् ।
निकट दिनमै यसलाई उद्योगकै रुपमा स्थापित गराउने आफुहरुको योजना रहेको समुहकी संयोजक छत्रमाया पौडेलको भनाइ छ ।
समुहकी सदस्य शान्तिकला न्यौपाने कम मेहेनतमापनि आम्दानी बढि हुने भएपछि आफुहरुले लिएको तालिमले पनि सार्थकता पाएको बताउछिन् । खेर गईरहेको समयलाई सदुपयोग गर्दापनि आर्थिक रुपमा फाईदा पुगिरहेको उनको अनुभब छ ।
सहकारीले आगामी दिनमा महिलाहरुका लागि यस्ता स्वरोजगारमुखी कार्यक्रमहरु ल्याउने तयारी गरिरहेको सहकारीका अध्यक्ष सोमराज तामाङले जानकारी गराए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर