पूर्वी नाकाबाट नेपालमा प्रतिबन्धित र दर्ता नभएका भारतीय विभिन्न कम्पनीका औषधि तस्करीको माध्यमबाट भित्रिने क्रम रोकिएको छैन ।

विशेष गरी दक्षिणी झापाको कचनकवल, बाह्रदशी र झापा गाउँपालिकासँग जोडिएका सीमा नाकाबाट तस्करहरूले प्रतिबन्धित र दर्ता नभएका भारतीय औषधि नेपाली बजारसम्म ल्याउने गरेको खुलासा भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापा मातहत रहेका कचनकवल- १ स्थित अस्थायी प्रहरी चौकी कुट्टीबाट खटिएका गस्ती टोलीले बुधवार राती साढे ११ बजे करिब ८ लाख ४१ हजार ३९७ रुपैयाँ बराबरको औषधि बरामद गरेसँगै यस्तो खुलासा भएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको दुई जना पुरुष बोरा बोकेर शङ्कास्पद तवरले पैदल हिँडिरहेको अवस्थामा प्रहरीलाई देख्न साथ उनीहरूले प्लास्टिकका बोरा छाडेर भागेका थिए । बोरा खोलेर हेर्दा भारतीय विभिन्न ब्रान्डका औषधि बरामद गरिएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

बरामद गरिएको औषधिहरूमा ट्रामोल क्याप्सुल १४६० पत्ता, मेनिफोरस ट्याब्लेट १२० पत्ता, मोन्टास् एल १५२ पत्ता, क्युरवेल २१० पत्ता, ल्यावडिक रिलिफल जेल ५५ पत्ता, पेजोम डी ट्याब्लेट ४८० पत्ता, एसिलोफेल्म ८० पत्ता, गुड हेल्थ ४४३ पिस, जेडसि टायब्लेट १०० पत्ता, रिलिफ ट्याब्लेट ८८ पत्ता, फेक्जोबल ट्याब्लेट ८० पत्ता, भाइवेल २०० पत्ता, मोटीवक एलसी २६० पत्ता, भोविसन १०० पत्ता, रेन मक्स १५० पत्ता, इन्ट्रावक ५० पत्ता, जी गोल्ड २० पत्ता लगायत रहेका छन् । बरामद गरिएको औषधिलाई आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग विराटनगर पठाउने डिएसपी पाठकले बताए ।

यता औषधि व्यवस्था विभाग विराटनगर शाखाका निमित्त प्रमुख सञ्जीव शर्मा ९कट्टेल०का अनुसार प्रहरीले बरामद गरेको औषधिहरू नेपालमा प्रतिबन्धितदेखि दर्ता नभएको जानकारी दिए । ‘ट्रामोल क्याप्सुल नेपालमा प्रतिबन्धित हो, अन्य औषधिहरू मल्टिभिटामिन, दाद, छाला, खोकी, पेनकिलर जस्ता छन्, त्यो नेपालमा दर्ता छैन,’ उनले भने ।

बरामद गरिएको औषधिमा यौनवर्धक औषधि पनि छन् । एक औषधि व्यवसायका अनुसार खुला सीमा नाकाको फाइदा उठाउँदै नाम चलेका औषधि पसलहरूले यसरी भारतबाट औषधि तस्करीको माध्यमबाट नेपाल भित्राउँदै आएको छ । त्यो धन्दा अझै रोकिएको छैन । भारतको सिलगुढीमा औषधिको अक्सन बजार नै छ । नेपालमा १० रुपैयाँ पर्ने औषधि, अक्सन बजारमा एक रुपैयाँमा खरिद गरिन्छ । त्यहाँ खरिद गरिएका औषधिहरू झापाका विभिन्न नाका प्रयोग गरेर काठमाडौँ सम्म लैजाने गरेको उनको भनाई छ ।

२०७५ साल चैत १६ गते झापा प्रहरीले कुटी नाकाबाटै करिब २२ लाख मुल्य बराबरको यौनवद्र्धक औषधिसहित विभिन्न ब्रान्डका आयुर्वेदिक औषधि बरामद गरेको थियो । प्रहरीले त्यस बेला औषधि भित्राउने बाह्रदशी गाउँपालिका–४ का २५ वर्षीय इन्तियाज आलम, सोही ठाउँका २८ वर्षीय ताहिर हुसेन, २७ वर्षीय सादम हुसेन र बौद्ध–१ काठमाडौँ निवासी ३१ वर्षीय झिनचोक शेर्पालाई औषधि बोक्ने भ्यान र दुई मोटरसाइकलसहित नियन्त्रणमा लिएर कानुनी कारबाही गरेका थिए ।

करिब तीन महिना अघि पनि सशस्त्र प्रहरी बल नेपाल प्रदेश १ बाहिनी मुख्यालय सुनसरीबाट खटिएको विशेष टोलीले इलाम जिल्ला सूर्योदय नगरपालिका– २ स्थित लालिखर्क भन्ने स्थानबाट २८ पोका औषधि अर्थात् करिब ८० लाखको बरामद गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर