झापासहित देशका विभिन्न ठाउँमा गएराति पानी परेको छ ।
वाग्मती, प्रदेश एक, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा भएको हो ।
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । आज दिउँसो पनि प्रदेश एक र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही दिनदेखि नेपालमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव आजदेखि हट्ने र बिस्तारै मौसम सफा हुँदै जाने मौसमविद्ले बताएका छन् । प्रदेश एक र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रको एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।
आज दिउँसो काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा घाम लाग्ने मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले तत्कालै कुनै पनि मौसमी प्रणाली भित्रने देखिएको छैन ।
भोलि भने मौसम सामान्य बद्ली भएर केही ठाउँमा बादल लाग्ने माैसमविद्काे अनुमान छ ।