बिर्तामोड । नेकपा एमाले झापाको १० औं जिल्ला अधिवेशनबाट उम्मेद्वारी दिई निर्वाचित हुन चहानेहरुलाई मापदण्ड तोकिएको छ । नेकपा एमाले झापा जिल्ला कमिटीको पदाधिकारी र सदस्यहरुका लागि आवश्यक मापदण्ड तयार गरिएको हो ।
मापदण्डमा जिल्ला कमिटीको पदाधिकारी वा जिल्ला सदस्य हुन कम्तिमा १० वर्ष काम गरेको हुनुपर्नेछ । पदाधिकारीका लागि २ कार्यकाल सदस्य भई काम गरेको हुनुपर्ने वा एक कार्यकाल सचिवालय सदस्य भएको हुनुपर्नेछ ।
जिल्ला सदस्य हुनका लागि कम्तिमा एक कार्यकाल जिल्ला सदस्य भएको हुनुपर्ने वा जिल्ला कमिटीभन्दा एक तह मुनीका कमिटीमा रहि काम गरिसकेको हुनुपर्नेछ । समावेशीको हकमा जिल्ला सदस्यको उम्मेद्वार हुन पार्टीको सदस्यता लिएको कम्तिमा ५ वर्ष पुरा भएको हुनुपर्ने वा गाउँ,नगर कमिटी वा सो भन्दा माथिको कमिटीमा रहि काम गरेको हुनुपर्नेछ ।
जनवर्गीय संगठनबाट जिल्ला सदस्यको उम्मेद्वार हुनका लागि पार्टी सदस्यता प्राप्त गरेको कम्तिमा ७ वर्ष पुरा भएको र जनवर्गीय संगठनको जिल्ला कमिटीको अध्यक्षभन्दा माथि रहि एक कार्यकाल काम गरेको हुनुपर्नेछ ।
स्थानीय वडा तथा पालिका कमिटीमा निर्वाचित भई हाल वहाल रहि रहेको पदाधिकारी तथा सदस्यहरु जिल्ला सदस्यमा उम्मेद्वार बन्न नपाउने मापदण्ड बनाइएको छ ।
अन्य पार्टीबाट वा सामाजिक क्षेत्रमा विशिष्ट योगदान गरि पार्टीमा प्रवेश गरेका व्यक्तिको हकमा महाधिवेशन वा कुनै तहको अधिवेशनमा प्रतिनिधि हुन वा कुनै पनि कमिटीको सदस्य पद्का लागि उम्मेद्वार पार्टी सदस्यताको अवधि लागु हुनेछैन ।
समावेशी कोटाबाट उम्मेद्वारी दिन चहानेहरुले आफ्नो परिचय खुल्ने कागजात पेश गर्नुपर्नेछ । पार्टी सदस्यता पत्र प्राप्त मिति र सदस्यता नम्बर खोलेर कार्ड अनिवार्य पेश गर्नुपर्नेछ । एकता प्रक्रियाबाट सामेल भएका व्यक्तिहरुमा त्यो अनिवार्य हुने छैन ।