दमक — चैतको महिना । अब मध्यरातमा जोगीको फेरी सुनिनेछ । बराठको सिङलाई मध्यरातमा गाउँघरमा बजाउदै हिन्नुलाई फेरि लगाउनु भनिन्छ । फेरीसँगै जये गोरख निरञ्जन मन्त्र पनि सुनिन्छ । मध्यरातमा मन्त्रोच्चारण गर्ने र बिहान ‘जय गुरु गोरखनाथ’ भन्दै सिदा लिन आउने व्यक्तिलाई जोगी भन्ने चलन छ । उनीहरुको समुदायलाई समेत जोगी समुदाय भनिन्छ । समुदायका पढेलेखेका विद्वानहरुले सांस्कृतिक संरक्षणका दृष्टिले मात्रै फेरी लगाउने गर्छन् । पुराना पुस्ताका अझै यसलाई आफ्नो संस्कृति र एकैपटक भए पनि गर्नै पर्ने पितापूर्खादेखि चलेको चलनका रुपमा लिन्छन् । घरको रख्खे हुने दोख, देशान्तर हटेर जाने परम्परादेखि चलेको चलन हो । वायुले दुःख दिइरहने छ भने हटेर जाने फेरीसँगै निरञ्जन मन्त्र पनि भनिन्छ । अहिले शहरी समाजले ‘फेरी’ भुल्दै गएको छ । समुदायमै पनि फेरी लगाउने घटेका छन् । विश्वास मान्नेहरुले घरभित्र पसेरै फुकिदिनँ आग्रह गर्छन् । तर बजारका घरमा चारसुर हुँदैन । अहिले चार सुर घुम्नु पर्दैन, पहाडतिर घरका चार सुर हुन्थे, बजारमा हुँदैनन् । दान दक्षिणा पनि विधि पुर्याएर दिँदैनन् । पहाडमा पाँच घर हिंड्दा उठ्ने सिदा बजारमा डेढ सय घर हिंड्दा पनि नउठ्ने जोगी समुदायकाहरुको गुनाशो छ ।
मध्य रातमा फेरी लगाउने र बिहान सिदा लिन आउने जोगी शहरमा कम कमै देखिन्छन् । उसो त फेरी लगाउने विशिष्ट महिनाका रुपमा कात्तिक महिना र चैत महिना पर्ने गर्छन । जोगी समुदायलाई पृथ्वीनारायण शाहको रात्रीकालीन गुप्तचरका रुपमा पनि व्याख्या गरेको पाइन्छ । तर जोगी समुदायका कतिपयले यो मतलाई इन्कार गर्छन् । गुरु गोरखनाथबाट दिक्षित पनि भनिने यो समुदायको नेपाली पहाडी समाजमा विशिष्ट विशेषता छ । मौलिक मन्त्रोच्चारण, झारफुक र उपकारका दृष्टिले नेपाली पहाडी समाजको गुणी समुदायमा पर्छ जोगी समुदाय ।

प्रतिक्रिया

सम्बन्धित खवर