असोज ७,खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा आगामी असोज १७ गतेदेखि २१ गतेसम्म हुने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रमको तयारी तिव्र रुपमा भइरहेको छ ।
नगरपालिका सहित जिल्लाका धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धन तथा विकास गर्ने उद्धेश्यले पाँच दिने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ कार्यक्रम आयोजना गरिएको हो ।
चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रम मार्फत संस्कृति र पर्यटनको माध्यमबाट खोटाङको पहिचान देश तथा विदेशमा युर्याएर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर थिर्तराज भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो “लाइभ चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रमले नगर क्षेत्र भित्र रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याएर यहाँको संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन र बिकास गर्ने लक्ष्य सहित कार्यक्रमको आयोजना गरिएको मेयर भट्टराईले जानकारी दिनुभयो ।”
‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ कार्यक्रममा नेपाल, अस्ट्रेलिया, अमेरिका, जापान, लातभिया, लिथुअनिया, दक्षिण कोरिया, युक्रेन, भियतनाम, बंगलादेश, भुटान, चीन, इजिप्ट, भारत लगायत विभिन्न १४ देशका ४० जना ख्यातिप्राप्त चित्रकारहरुको सहभागिता हुने मूल व्यवस्थापन समितिका सदस्य सचिव तथा फोकल पर्सन ओजनबाबु आचार्यले बताउनुभयो ।
चित्रकारले उतारेका क्यानभास पेन्टिङलाई राखेर असोज–२० गते दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा चित्रकला प्रदर्शनीसहित स्थानीय परिकारको स्टल, विभिन्न जातजातिको साँस्कृतिक झाँकी, स्थानीय कलाकारहरुको नृत्य प्रदर्शन लगायतका कार्यक्रम गर्ने तयारी गरिएको आइतबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
चित्रकारले क्यानभासमा उतारेका लाइभ चित्रकलालाई केही महिनापछि काठमाडौँ आर्ट ग्यालरीमा राखिएर प्रदर्शनी गरिने साथै तस्वीरलाई सङ्ग्रहालय बनाएर राखिने योजना नगरपालिकाले बनाएको नगरपालिकाले जनाएको छ ।
यस्तै, जिल्लाका अन्य नौँवटा स्थानीय तहबाट प्राथमिकीकरण गरिएका धार्मिक, साँस्कृतिक तथा ऐतिहासिकस्थलका तस्वीरहरु सङ्कलन भइसकेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले लाइभ चित्रकला कार्यशाला एवम् प्रदर्शनी कार्यक्रमको लागि १८ लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।