खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले वडामै पुगेर योजना सम्झौता देखि सामाजिक सुरक्षा भत्ता वितरणसम्मको सेवा प्रदान गरेको छ । नागरिकको सहजताका लागि नगरपालिकाले सोमबार वडा नम्बर ११ राजापानीको वडा कार्यालयमा पुगेर सेवा प्रदान गरेको हो ।

नगरपालिकाका कर्मचारी, जनप्रतिनिधिहरुको उपस्थितीमा वडागत योजना सम्झौता, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, बालिका विकास बचत भौचर हस्तान्त्रण र ज्येष्ठ नागरिक तथा अपाङगता परिचयपत्र वितरण गरिएको हो बैंक सँगको सहकार्यमा सामाजिक सुरक्षाभत्ता पनि वडामै वितरण गरिएको हो ।


सामाजिक सुरक्षा भत्ता अन्तरगत बृद्ध भत्ता लिन आएका जेष्ठ नागरिक लट्ठीको सहारामा वडा कार्यालयसम्म आएका थिए । सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण सुरु भएपछि भत्ता बुझ्न बैंकसम्म पुग्नु पर्ने बाध्यता रहेको छ ।

राजापानीदेखि हलेसीसम्म पुगेर फर्किदा भत्ताको आधा रकम सकिएको सुनाउदै हाल वडामै भत्ता पाउदा धेरै खुशी लागेको जेष्ठ नागरिकले बताउँछन् । वडासम्म आउन नसक्ने व्यक्तिहरुको भत्ता परिवारका सदस्यलाई प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।योजना सम्झौता गर्न नगरपालिकाको कार्यालयमा धाउदा धेरै खर्च हुने गरेको उपभोक्ता समितिको भनाइ छ । वडागत योजना सम्झौतादेखि ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र ज्येष्ठ नागरिक तथा अपाङगता परिचयपत्र वडामै पाउँदा नागरिक हर्षित छन् ।

नागरिकलाई सहजताका लागि सोमबार राजापानीको वडा कार्यालयमा सञ्चालन गरिएको एकीकृत सेवा प्रवाह कार्यक्रममा १५ वटा योजना सम्झौता गरिएको छ । नगरपालिकाले सञ्चालन गरिरहेको बालिका वचत कार्यक्रम अन्तरगत बैंकमा रकम जम्मा गरेर १० जनालाई भौचर हस्तान्त्रण गरिएको छ । यस्तै, २०० जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै औषधी वितरण गरिएको छ, भने १५० जनाले सामाजिक सुरक्षा भत्ता बुझेका छन् । क वर्गका १, ख वर्गका ४, ग वर्गका २ र घ वर्गका १ गरी ८ जनालाई अपाङगता परिचयपत्र र ३० जनालाई ज्येष्ठ नागरिक परिचयपत्र प्रदान गरिएको नगरपालिकाका एमआइएस अपरेटर विजय विश्वकर्माले बताउनुभयो ।

नागरिकको सहजताका लागि, समय र स्रोतको बचतका लागि वडामै आएर सेवा प्रदान गरेको मेयर विमला राईले बताउनुभयो । ‘राजापानी दुरी र भूगोलका हिसाबले टाढा छ, बिशेषगरी सामाजिक सुरक्षा लिन यहाँ नागरिकलाई समस्या छ, भत्ता लिन हलेसी पुग्नु पर्छ । सवारी साधन प्रयोग गरेर जादा आधा रकम उतै सकिने समस्या छ । त्यसैले वडामै ल्याएर हामीले भत्ता वितरण गरेका छौँ । वडाका योजना साना छन्, सम्झौताका लागि नगरपालिका पुग्नु पर्ने उपभोक्ताको बाध्यता छ । उहाँहरुको समय र स्रोतको बचतको लागि योजना सम्झौता लगायतका सेवा हामीले वडाबाट प्रदान गर्ने योजना बनाएको मेयर राईले जानकारी दिनुभयो ।

वडा कार्यालय आएका कतीपय सेवाग्राहीको कागजपत्र नमिलेका कारण रित्तो हातसमेत फर्किका छन् । बिशेषगरी सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीमा समस्या देखिएकाले त्यस्ता व्यक्तिहरुको कागजपत्र मिलाएर पुनः उहाँहरुलाई सहज वातावरणमा सेवा प्रदान गरिने वडाध्यक्ष अनिश कार्कीले बताउनुभयो ।

त्यस्तै ः साविकको राजापानी गा.वि.स वडा नम्बर १ थुम्कीस्थित लोक बहादुर बुढाथोकी करीब एक वर्षदेखि प्यारालाइसेस रोगले ओछ्यानमै सिमित हुनुहन्छ । उहाँलाई उपमेयर रमेश कुमार राउत, वडाध्यक्ष अनिश कार्की, नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरे लगायतको टोलीले घरमै पुगेर अपाङगता कार्ड प्रदान गरेको छ ।
नागरिकको सहजताका लागि वडासम्म आएर सेवा प्रदान गरिरहदा बुढाथोकी वडासम्म पनि पुग्न नसक्ने अवस्था भएकाले उहाँलाई घरमै पुगेर क वर्गको अपाङगता कार्ड प्रदान गरिएको उपमेयर राउतले बताउनुभयो । कार्ड प्राप्त गरेसँगै उहाँले क वर्गको अपाङगता भएकाहरुले पाउने मासिक भत्ता पाउनुहुने राउतको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर