असार १०,खोटाङ । रावा बेसी गाउँपालिकाले भौतिक पूर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकता दिएर आगामि आर्थिक वर्ष २०८२÷०८३ को बजेट ल्याएको छ । असार १० गते गाउँपालिकामा सम्पन्न १७ औँ गाउँ सभामा भौतिक विकास र कृषिलाई प्राथमिकतामा राखेर ३८ करोड ५६ लाख ५६ हजार ८ सय ४३ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको हो ।
गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले नीति तथा कार्यक्रम र उपाध्यक्ष कौशिला कुमारी गुरुङले आगामि आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो ।संघीय सरकारसँगको साझेदारी समुपुरक अनुदानबाट विजुले लेकखर्क दुवेकोल ऐसेलुखर्क सडकको लागि १ करोड ७५ लाख, प्रदेश सरकारसँगको समपुरक अनुदानबाट नुनथला हरमटार कुभिण्डे जौवारी सडक स्तरोन्नतिको लागि १ करोड २५ लाख र वडा नम्बर १,३ र ५ को तला थप्नको लागि ७५ हजार बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।
संघीय सरकार विशेष अनुदानबाट वृहत कृषि व्यवसाय प्रवद्र्धदन कार्यक्रमको लागि १ करोड ३० लाख बजेट विनियोजन भएको छ । रावा बेसी गाउँपालिकालाई लिची हवको रुपमा विकास गर्ने लागयतका कृषि कार्यक्रमहरु समेटिने निति तथा कार्यक्रम ल्याइएको हो ।वडागत पूँजीगत योजनाहरुका लागि २ करोड २ लाख, निर्माणाधिन गाउँपालिकाको प्रशाशनिक भवनको लागि गाउँपालिकाको र्फबाट ५० लाख बजेट विनियोजन भएको छ ।
आर्थिक विकासको लागि १ करोड ८६ लाख ७९ हजार, सामाजिक विकासका लागि १९ करोड ११ लाख ८३ हजार ८ सय ४३ रुपैयाँ रकम विनियोजन भएको छ । विद्यार्थीको क्षमता अभिवृद्धिको लागि विद्यालयहरुमा खेलकुल र संगीत शिक्षकहरुको व्यवस्था गर्ने, गरिब र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षाको लागि छात्रवृत्ति प्रदान गर्ने गाउँपालिकाले नयाँ नीति लिएको छ ।
गाउँपालिकाको समग्र पूर्वाधार विकासको लागि ९ करोड ९ लाख ८२ हजार बजेट विनियोजन भएको छ । वातावरण तथा विपद व्यवस्थापनको लागि ३० लाख, सुशासन तथा संस्थागत विकासको क्षेत्रमा १८ लाख बजेट विनियोजन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीले बताउनुभयो ।गाउँपालिमा सञ्चालित एकल पुरुष एवं एकल महिला भत्ता लगायत शिक्षा क्षेत्रका कार्यक्रमहरुलाई निरन्तरता दिएको गाउँपालिकाले बेरोजगार युवाहरुलाई रोजगारीको सृजना गर्ने, फुसको छानो विस्तापित गर्ने लगायतका नयाँ नीति गाउँपालिकाले प्रस्तुत गरेको छ ।

