खोटाङ ,२९ फागुन । खोटाङका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउन सुरु गरिएको छ । सन् २०२६ सम्ममा दादुरा–रुबेला रोग निवारण गर्ने उद्देश्यले नेपाल सरकारले सुरु गरेको ‘पूर्ण खोप सुरक्षित भविष्य’ अभियान अन्तरगत खोटाङमा मंगलबारदेखि ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउन सुरु गरिएको हो ।

आगामी चैत ३ गतेसम्म सञ्चालन हुने अभियानमा जिल्लाका ११ हजार ५१६ बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय खोटाङका क्षयकुष्ठ सुपरभाइजर सुरेन्द्रकुमार बुढाथोकीले बताउनुभयो । जिल्लाका १० स्थानीय तहमा ३९७ वटा खोप केन्द्र निर्धारण गरिएको छ । प्रतिखोप केन्द्र एक÷एक जना खोप कार्यकर्ता खटाइएको साथै दुई÷दुई जनाका दरले ७९४ स्वयंसेवक परिचालन बुढाथोकीले जानकारी दिनुभयो ।

जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एंव जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चिउरीडाँडाका अनिस खनाललाई खोप लगाएर अभियान शुभारम्भ गरिएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार केपिलासगढी गाउँपालिकाका ८७१, ऐसेलुखर्क गाउँपालिकाका ८३०, रावाबेँसी गाउँपालिकाका ७१७, हलेसी तुवाचुङ नगरपालिकाका १ हजार ९६२, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २ हजार ९३१, साकेला गाउँपालिकाका ६८२, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १ हजार ८२, खोटेहाङ गाउँपालिकाका ९७३, जन्तेढुंगा गाउँपालिकाका ७६९ र बाराहापोखरी गाउँपालिकाका ७०० जना बालबच्चालाई खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

नियमित खोप छुटेको अवस्थामा ५ वर्षसम्म छुट खोप तालिका अनुसार नजिकैको खोप केन्द्रमार्फत खोप लगाउन सकिने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनकुमार चौंलागाईले बताउनुभयो । दादुरा मिजल्स भाईरसको कारण अति छिटो सर्ने संक्रामक रोग हो । दादुरा रुबेलाबाट संक्रमित एक जनाबाट १८ जनासम्मलाई संक्रमण सर्ने भएकाले यसलाई कोभिड भन्दा खतरनाक संक्रामक रोग हो । बालबच्चालाई ज्वरो आउने, शरीरमा रातो विमिरा देखा पर्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा राता हुने, आँखा पाक्ने, रुघाखोकी लगायतका लक्षण देखा पर्ने प्रमुख चौंलागाईले जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर