कोभिड १९ को तेस्रो लहर सुरु भइसकेको छ, सरकारले भन्नमात्र बाँकी छ । मानिसहरूले बढी उपस्थिति जनाउने भेला, उत्सव, समारोहले कोरोना संक्रमणलाई ह्वात्तै बढाउँछ । चाहे ओमिक्रोन होस्, चाहे डेल्टा होस्, चाहे सुरुको होस्, जुनसुकै भेरियन्ट भए पनि जुलुस, भीड, बिहे–ब्रतबन्ध, भोज, महाधिवेशन यी सबै गतिविधिले संक्रमण दरलाई बढाउँछ ।
हामीले अहिले जे गरिरहेका छौँ, त्यसले हामी सजग भइरहेका छैनौँ भन्ने देखाउँछ । हामीले यस अगाडिको भयावह अवस्थाबाट अझै पाठ सिकेनौँ । गत वर्ष त्यति ठूलो महामारी हुँदा, दिनमै २ सयदेखि २५० जनासम्म मानिस मर्दा पनि अहिले हामी छिटै त्यो अवस्थालाई बिर्सिँदा रहेछौँ ।
स्वास्थ्य मन्त्रालयले २४ जनामा ओमिक्रोन देखिएको बताएको छ, त्यो संख्या धेरै बढिसक्यो होला । शहरी क्षेत्रमा यति धेरै भिडभाड छ, त्यो संख्या बढ्दै जान्छ । सबै मानिसमा परीक्षण गर्ने हो भने यहाँ हजारौंंमा पोजेटिभ आउन सक्छ । काठमाडौंमा यति बाक्लो र ठूलो जनसंख्या छ, धेरै जनसंख्यामा संक्रमण फैलिन सक्छ । अहिले प्रशस्त मात्रामा अस्पतालमा संक्रमितहरु थपिन थालेका छन् । आइसियूमा भर्ना हुनेको संख्या बढेको छ । लक्षण भएका संक्रमितहरुको संख्या पनि बढिरहेको छ ।
कोभिड संक्रमितका लागि अस्पतालले गर्ने कुरा धेरै छैनन् किनभने कोभिड १९ को कुनै उपचार छैन । मान्छे बिरामी भयो, अस्पताल भर्ना भयो भने उसका लागि सहयोगी उपचार गर्ने हो । अक्सिजन पुगेन भने अक्सिजन दिने हो । थप अरु संक्रमण हुन नदिने हो । आइसियू, भेन्टिलेटर चाहिनेहरुलाई त्यसको सुविधा बढाउनुपर्छ । परार सालको भन्दा यसपटक यो सुविधा झन्डै ३ गुणाले व्यवस्थापन भएको छ । गत वर्ष अक्सिजनको सुविधा थिएन, अहिले सत्र÷अठार ठाउँमा प्लान्ट नै स्थापना भएको छ । अस्पतालहरुको क्षमता बढेको छ । अस्पतालहरुमा स्वास्थ्यकर्मीको जनशक्ति बढाउनुपर्छ । अस्पतालका लागि चाहिने कमोडिटिजहरु, स्वास्थ्य उपकरण, सामानहरु, औषधिहरुको व्यवस्था गर्नुपर्छ । अस्पतालले जति गरे पनि धेरै संख्यामा संक्रमण भयो भने अस्पतालको उपचारले मात्र मान्छे बचाउन सक्दैन ।
कोभिड संक्रमण रोक्नका लागि अब सबै संयन्त्रहरुलाई परिचालन गर्नुपर्छ । यो सरकार, स्वास्थ्यकर्मी, आम नागरिकको साझा समस्या हो । यसलाई रोकथाम तथा नियन्त्रणका लागि सबैको जिम्मेवारी उत्तिकै छ । उसले गर्दा हुन्छ भनेर कसैले पन्छिएर हुँदैन, यसबिरुद्ध सबै पक्ष मिलेर जानुपर्छ । संयुक्त प्रयत्न गर्नुपर्छ अनिमात्र कोभिडको लडाई जित्न सकिन्छ, हैन भने धेरै मान्छे फेरि पनि संक्रमित हुने, मृत्युको जोखिममा पुग्ने खतरा हुन्छ । अहिले सुरु भएको कोरोनाको तेस्रो लहर घट्दैन यो बढ्दो क्रममा रहेको छ । यो बढिसकेको छ, सरकारले भन्न त बाँकी छ । सरकारले तेस्रो लहर आउन सक्छ भनिरहेको छ तर एउटा ब्यक्तिको हिसावले मैले भन्दाखेरी तेस्रो लहर सुरु भइसक्यो ।