खोटाङ असार १६ । हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ । चालू आर्थिक वर्ष २०८१÷०८२ मा जन्मेदेखि १५ महिनामूनिका ३३७ जना बालबालिकाले हालसम्मको र १६ महिनादेखि ५९ महिनासम्मका ११८४ जना बालबालिकाले १४ प्रकारका रोगविरुद्धको नियमति खोप लगाएको सुनिश्चित भएपछि सोमबार हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको हो ।

खोप सुनिश्चिता नगरपालिका घोषणासँगै जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र नगरपालिकाका नगरप्रमुख विमला राईलाई हस्तान्तरण गर्नुभएको थियो ।

नगरपालिकाले खोप कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने स्वास्थ्य कार्यालय, वडा कार्यालयहरू, सम्पूर्ण स्वास्थ्य चौकी, स्वास्थ्य खोप कार्यकर्ता र सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रशंसा पत्रले सम्मान गरेको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख राईको प्रमुख आतिथ्यता एवम् नगर प्रमुख राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सुरेश तामाङ, नगरपालिकाका उपप्रमुख रमेशकुमार राउत,  प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, रणभीम गणका गणपति केदार प्रसाद लामिछाने, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक बिष्ट, सशस्त्रका प्रनाउ दिपेन्द्र थापा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त गिरी, प्रमुख अनुसन्धान अधिकृत रमेश अधिकारी, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाई, नेकपा एमाले हलेसी तुवाचुङ नगर कमिटीका अध्यक्ष डिल्ली चाम्लिङ, नगरभित्रका वडाध्यक्षहरु, नेपाल पत्रकार महासंघ खोटाङका निवर्तमान अध्यक्ष दिलीप खत्री, दिक्तेल नगरपालिकाका जनस्वास्थ्य निरिक्षक खेमराज आचार्य लगायतको उपस्थिति रहेको थियो ।

१० स्थानीय तह रहेको जिल्लामा यसअघि नौ वटा स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिसकिएको छ । हलेसी तुवाचुङ नगरपालिकालाई घोषणा गरिएसँगै जिल्लामा सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरि सकिएको छ ।

जिल्लाका सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएसंगै खोटाङ जिल्लालाई असार २२ गते पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाईँले बताउनुभएको छ ।

वि.सं. २०७४ पुस–१४ गते खोटाङलाई ३१ औँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । त्यसयता हरेक वर्ष खोटाङमा पूर्ण खोप सुनिश्चितता तथा दीगोपना कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

नेपाल सरकारले जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापनिज इन्सेफइटिस लगायतका १३ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । जन्मेदेखि दुई वर्षभित्रका ९५ प्रतिशत बालबालिका सबै प्रकारका खोप पाएको खण्डमा सरकारले पूर्ण खोप सुनिश्तिता भएको घोषणा गर्ने गरेको छ ।

खोप कार्यक्रमबाट कोही बालबालिका वञ्चित नहोस् भन्ने उद्देश्यले ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप निश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ नेपाल सरकारले खोप कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर