नेपाली कांग्रेसका नेता शेखर कोईरालाले नेपाली कांग्रेसलाई नयाँ उचाईमा पुराउने अभियानमा विश्राम नलागेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आफु निकट नेताहरुको भेलालाई सम्बोधन गर्दै कोईरालाले पार्टीको महाधिवेशनले आफु पक्षिय केहिलाई महत्वपूर्ण जिम्मेवारीमा पुराएको र केहिलाई जिम्मेवारी बाहिर राखेपनि कांग्रेसलाई नयाँ उचाईमा पुराउने अभियानमा विश्राम नलागेको बताउनुभएको हो ।

उहाले सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा गरेको मनोनयनका बिषयमा प्रश्न उठाउदै मापदण्डका आधार प्रष्ट हुनुपर्ने धारणा राख्नुभयो । कोईरालाले सभापतिको व्यक्तिगत रुचिका आधारमा व्यक्तिको छनोट भएमा पार्टी दुर्घटनामा पर्ने बताउनुभयो ।

त्यस्तै उहाले कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन आफूहरू एकताको सन्देश बोकेर देशभर जाने जिकिर गर्नुभयो । विधि र विधानबाहिर गएर गरिने सबै कामहरू बन्द गर्न एकढिक्का भएर प्रयत्न गर्नुपर्ने उहाको भनाई छ । कोईरालाले तीनै तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याएर र देशको मुहार कांग्रेसले मात्रै फेर्न सक्छ भन्ने अभियानमा कटिवद्ध रहेको धारणा राख्नुभयो ।

त्यस्तै कांग्रेस उपसभापति धनराज गुरुङले उहाले गुटगत व्यहार भन्दा पनि न्यायोचित व्यवस्थालाई जोड दिने बताउनुभयो । बिधि र बिधानका आधारमा पार्टीलाई चलाउन र रुपान्तरित गर्न आफुहरु छलफलमा जुटेको र यसलाई भेला भन्न नमिल्ने उहाको भनाई छ ।

 

कांग्रेस महाधिवेशनमा सभापतिमा पराजित भएका नेता शेखर कोइरालाले निरन्तर रुपमा आफु पक्षिय नेताहरु छलफल गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर