फागुन २०, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कृषकले उत्पादन गरेको कृषि उपज बस्तुहरुलाई बजारीकरण गर्नको लागि कृषि मार्ट सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाले–७ महादेवस्थान स्थित ट्राफिक चोकमा ३८ लाख ४० हजार ८ सय ३१ रुपैयाको लागतमा निमार्ण गरिएको कृषिमार्ट तथा चिस्याङ केन्द्र आइतवार एक कार्यक्रमको बीच “गोठ देखि कोठ सम्म,बारी देखि बजार सम्म”स्थानीय उत्पादनलाई उपभोग गरौं,स्वास्थ्यलाई दिर्घ बनौं भन्ने नारा सहित सञ्चालनमा ल्याइएको हो ।

सहज नेपाल संस्थाको प्राविधिक सहयोगमा नगरपालिकाले निर्माण गरेको चिस्यान केन्द्र नगरपालिकाले मार्षिक १० हजारमा निजी कम्पनीलाई भाडामा दिइएर सञ्चालन ल्याइएको हो ।

कृषकले उत्पादन गरेको कृषि उपज बस्तुहरु बिक्री नहुने,उचित मूल्य नपाउने, विक्री गर्न घरहरु तथा होटलमा डोकोमा बोकेर डुलाउदैं बिक्री गर्नुपर्ने बाध्यता विगतमा रहेकाले त्यो समस्याको अन्त्य गर्नको लागि कृषिमार्ट तथा चिस्याङ केन्द्र सञ्चालनमा ल्याइएको मेयर बिमला राईले बताउनुभयो । नगरपालिका क्षेत्रभित्रका कृषकहरुले कृषि मार्टमा लगेर कृषि उपज विक्री गर्ने छन् । उक्त उपज मार्ट सञ्चालकले बजारकिरण गर्ने छ । कृषक र होटल व्यावसायिहरुसँग छलफल गरेर तरकारीको मूल्य समेत निर्धारण गरिएको मेयर राईले जानकारी दिनुभएको छ ।

         चिस्यान केन्द्रमा राखिएको तरकारी तथा फलफुल । 
आलु, साग, धनिया, कोपी, मुला,गोलभेडा,केरा लगायतका कृषि उपज बस्तुहरु विक्री गर्न कृषकहरुले कृषि मार्टमा ल्याएर बिक्री गरेका थिए । आफुले उत्पादन गरेर ल्याएको कृषि उपज बस्तुहरु उचित मूल्यमा विक्री गरेर खुशी हुँदै कृषकहरु घर फर्किएका छन् । अरु बेला सबै घरहरु, होटलहरुमा डोकोमा बोकेर डुलाएर कराउदंै बेच्नु पथ्र्यो, आज यहाँ सहजै रुपमा विक्री हुँदा धेरै खुशी लागेको कृषकहरु बताउँछन् । कृषि उपजको बजारीकरणका लागि सञ्चालन ल्याइएको कृषि मार्टले निरन्तरता पाउनु पर्ने कृषकहरु भनाई छ ।

              कृषि मार्टमा कृषि उपज विक्री गर्न आएका कृषकहरु।

हरेक दिन सयौँको संख्यामा त्रि–धार्मिक स्थल हलेसीमा पर्यटकहरु आउने गरेका छन् । जसकारण हलेसी क्षेत्रका होटलहरु प्राय सधै चलायमान हुन्छन् । तर, व्यवस्थापन हुन नसक्दा स्थानीय स्तरमा उत्पादन भएका कृषि उपज कुहिएर जाने र बाहिरबाट तरकारीहरु भित्रिने गरेको बताइन्छ । नगरपालिकाले कृषि मार्ट सञ्चालनमा ल्याएसँगै कृषकहरुले उत्पादन गरेको सबै कृषि उपज विक्री हुने विश्वास लिइएको छ ।

आइतबार नगर प्रमुख राई, उपप्रमुख रमेश कुमार राउत, प्रमुख प्रशासकीय अधिकृत कैलाश बहादुर ठकुराठी, वडाध्यक्ष, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थितिमा औपचारिक उद्घाटन गरिएको हलेसी कृषि मार्टमा कृषकहरुले कृषि उपज विक्री गर्न सुरु गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर