हात्तीको आक्रमणबाट झापाको शिवसताक्षीमा एकजना पुरुषको ज्यान गएको छ।
शुक्रबार बिहान राती गाउँ पसेको एकल मत्ता हात्तीले स्थानीय पान्ट्याङकी स्थित सृष्टि टोलका ४५ वर्षीय मेघराज राईलाई आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।
घर भत्काएर भण्डारण गरेको अन्नपात खाएर नष्ट गरी जगल फर्किसकेको हात्ती पुन फर्किएर राईलाई आक्रमण गरेको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ। पहिलोपटक हात्ती आउँदा भागेर ज्यान जोगाएका राई परिवारले दोस्रोपटक हात्ती फर्किएर आएको थाहा नपाएको स्थानीयवासीको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ।
घरमा बसिरहेका राईलाई सुडले तानेर हात्तीको खुट्टाले किल्चेर मारेको प्रहरीले जनाएको छ ।
शिवसताक्षी नगरपालिका वडा नं ११, ९,८,१ र १० हात्ती प्रभावित वडा हुन् । जङ्गलसँग जोडिएको यी वडामा जङ्गली हात्तीको आक्रमणबाट बर्सेनी धनजनको क्षति हुने गरेको छ। यस वर्ष मात्रै वडा नम्बर ११ मा हात्तीले दुई जनाको ज्यान लिइसकेको छ । यसअघि बच्चाबरमा एकजना महिलाको हात्तीको आक्रमणबाट ज्यान गएको थियो।
घटना लगत्तै इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी घटनास्थल पुगेको थियो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर