भद्रपुर नगर क्षेत्रका सबै संस्थागत विद्यालय आजदेखि बन्द गरिएको छ । आँखा पाक्ने रोगको प्रकोप फैलिएसँगै नगर क्षेत्रमा सबै संस्थागत विद्यालय बन्द गरिएको नगर शिक्षा शाखाले जनाएको छ ।
आँखा पाक्ने रोग विद्यार्थीहरूमा फैलिएको भन्दै संस्थागत विद्यालयका प्रअहरु बिहीबार नगरपालिकासँग बैठक बसी छलफल गरेका थिए । छलफलमा साउन १९ देखि साउन २२ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको जनाइएको छ ।
सामुदायिक विद्यालयहरू बर्खे बिदा भई बुधवारदेखि मात्र सञ्चालनमा आएका हुनाले विद्यार्थीको अवस्थाबारे जानकारी हुन बाकी रहेकोले सामुदायिक विद्यालय बन्द गर्ने निर्णय नभएको नगर शिक्षा शाखा राजकुमार ओडारीले जानकारी दिए । आँखा पाक्ने रोगको प्रकोप बढेकोले विद्यार्थी तथा अभिभावकहरूलाई सतर्क रहन उनले आग्रह पनि गरेका छन् ।