दमक/ पछिल्लो समय तिब्र शहरीकरण भइरहेको झापाको दमक नगरपालिकामा बाहिरबाट बसाइँसरी आउने घर परिवारको संख्या उच्च रहेको पाइएको छ ।
दमक नगरपालिकाका विभिन्न वडाको तथ्याङकलाई हेर्दा नगरपालिका क्षेत्रबाट अन्यत्र बसाइँ जानेको भन्दा आउनेको संख्या दोब्बर भन्दा धेरै देखिएको हो ।

नेपाल सरकारको पञ्जीकरण दर्ता सम्बन्धिको आधिकारिक निकाय राष्ट्रिय परिचय पत्र तथा नागरिक दर्ता विभागको तथ्याङक अनुसार २०८० सालको बैशाखदेखि असार १४ गते सम्ममा यहाँ (दमक) बसाइँसरेर २१७ परिवार आएका छन भने दमकबाट अन्यत्र बसाइँसरी गएका १०१ परिवार छन ।

वडा नं १ मा मात्रै ५१ परिवार अन्यत्रबाट बसाइँसरेर आएका छन भने ९ परिवार मात्रै सो वडाबाट अन्यत्र बसाइँ गएका देखिन्छ । वडा नं २ मा जाने ११ र आउने २८ परिवार छन भने वडा नं ३ मा आउने १५ र जाने ११ परिवार देखिन्छन । वडा नं ४ मा २३ परिवार बसाइँसरेर आउँदै गर्दा यो वडाबाट अन्यत्र जाने परिवार संख्या ४ मात्रै रहेको छ । दमकको केन्द्रविन्दु मानिने शहरी क्षेत्र वडा नं ५ मा बसाइँसरी जाने १२ परिवार छन भने आउने ३२ परिवार छन ।

त्यस्तै बढी व्यापारिक क्षेत्र ओगटेको र सबैभन्दा सानो भुगोल भएको वडा नं ६ र ७ बाट बसाइँसरी जानेको संख्या आउनेको भन्दा धेरै छ । ६ नम्बर वडाबाट सो अवधिमा १३ परिवार अन्यत्र बसाइँ सरेर जाँदै गर्दा आउने परिवारको संख्या २ ले कम अर्थात ११ रहेको छ ।

वडा नं ७ बाट १९ परिवार अन्यत्र गएका छन भने यो वडामा १५ परिवार अन्यत्रबाट बसाइँसरेर आएका देखिन्छ । त्यस्तै वडा नं ८ बाट बसाइँसरी जाने संख्या ८ र आउने १२ रहेको छ । त्यसैगरी वडा नं ९ मा आउनेको संख्या १९ छ भने यहाँबाट अन्यत्र जानेको संख्या १० रहेको छ । वडा नं १० बाट अन्यत्र बसाइँसरी जाने परिवारको संख्या ४ रहेको छ भने अन्यत्रबाट यो वडामा बसाइँ आउनेको संख्या ११ रहेको तथ्याङकले देखाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर