महिला तथा बालबालिकाविरुद्ध भएका अपराधको तथ्यांक बर्सेनि बढ्दो छ । महिला र बालबालिकामा विशेषगरी जबरजस्ती करणी र घरेलु हिंसामा पीडित हुनेहरु धेरै छन् । यसैगरी जबरजस्ती करणी उद्योग, बहुविवाह, बोक्सीको आरोपमा हिंसा हुने गरेको तथ्यांक छ ।

आर्थिक वर्ष ०७७/७८ मा देशभर १८ हजार ९६० वटा महिला तथा बालबालिकाविरुद्ध भएका अपराधको उजुरी परेका छन् । अघिल्लो अर्थात् आव ०७६/७७ मा भने १५ हजार ७५५ वटा र आव ०७५/७६ मा १९ हजार ३०४ वटा उजुरी परेको तथ्यांक छ । यो तीन आर्थिक वर्षको जोड्दा ५४ हजार १९ वटा उजुरी परेका छन् ।

तथ्यांकअनुसार आर्थिक वर्ष ०७७/७८ मा देशभर जबरजस्ती करणीका दुई हजार ५३२ र घरेलु हिंसाका १४ हजार २३२ वटा उजुरी प्रहरी कार्यालयमा परेका छन् ।

बालविवाह गरी जबरजस्ती करणीमा उजुरी आव ०७६/७७ र ०७७/७८ मा नपरे पनि आव ०७५/७६ मा तीनवटा मात्र उजुरी परेका थिए । आव ०७७/७८ मा बहुविवाहका ८५२, जबरजस्ती करणी उद्योगका ७३५, बाल यौन दुरुपयोग/बाल यौन दुर्व्यवहारमा २८१, बालविहाह ८४, अपहरण गरी जबरजस्ती करणीमा ६७, बोक्सी आरोपमा ६१, जातीय छुवाछूतमा ३९, अप्राकृतिक मैथुनमा ३६, अवैध गर्भपतनमा २७, मानव बेचबिखन जबरजस्ती करणीमा १० र जबरजस्ती करणीपछि हत्याका चारवटा उजुरी परेका छन् ।

यसैगरी आव ०७६/७७ मा घरेलु हिंसाका ११ हजार ७३८, जबरजस्ती करणीका दुई हजार १४४ वटा उजुरी परेका छन् । बहुविवाहका ७३४, जबरजस्ती करणी उद्योगका ६८७ वटा, बाल यौन दुरुपयोग/बाल यौन दुर्व्यवहारमा २३२ वटा उजुरी परेका छन् । बालविवाहका ६४, बोक्सीको आरोपमा ३४, अपहरण गरी जबरजस्ती करणी गरेकोमा ३४, जातीय छुवाछूतमा ३०, अवैध गर्भपतनमा २९, अप्राकृतिक मैथुनमा २७ र जबरजस्ती करणी गरी हत्या गरेकोमा दुईवटा उजुरी परेको तथ्यांक छ ।

यसैगरी आर्थिक वर्ष ०७५/७६ मा घरेलु हिंसाका १४ हजार ७७४ वटा उजुरी पर्दा जबरजस्ती करणीका दुई हजार २३० वटा उजुरी परेका थिए । यो आर्थिक वर्षमा बहुविवाहका उजुरी १ हजार १ वटा परेका थिए । जबरजस्ती करणी उद्योगमा ७८६, बाल यौन दुरुपयोग/बाल यौन दुर्व्यवहारमा २११, बाल विवाहका ८६ उजुरी परेका थिए । अपहरण गरी जबरजस्ती करणीमा ४७, बोक्सी आरोपमा ४६, जातीय छुवाछूतमा ४३, अवैध गर्भपतनमा २७, अप्राकृतिक मैथुनमा २४, मानव बेचबिखन जबरजस्ती करणीमा १५ वटा उजुरी परेका थिए भने जबरजस्ती करणी गरी हत्या गरेका ११ वटा उजुरी प्रहरीमा परेका थिए ।

समग्रमा तीनवटै वर्षको तथ्यांकअनुसार ५४ हजार १९ वटा उजुरी परेको ११३औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा तथ्यांक सार्वजनिक गरिएको हो ।

यी उजुरीमध्ये तीनवटै वर्षको सबैभन्दा धेरै उजुरी घरेलु हिंसामा परेको छ । यी तीन आवमा ४० हजार ७४४ वटा घरेलु हिंसाविरुद्धमा उजुरी परेका छन् । सबैभन्दा कम उजुरी बालविवाह गरी जबरजस्ती करणीका ३ वटा उजुरी मात्र परेका छन् । यसैगरी यी तीन आवमा जबरजस्ती करणीका ६ हजार ९०६ वटा उजुरी पर्दा बहुविवाहका दुई हजार ५८७ वटा उजुरी परेको तथ्यांक छ । जबरजस्ती करणी उद्योगमा दुई हजार २०८ वटा उजुरी परेका छन् ।

यसैगरी बाल यौन दुरुपयोग/बाल यौन दुर्व्यवहारका ७२४, बालविवाहका २३४, अपहरण गरी जबरजस्ती करणीका १४८, बोक्सी आरोपमा १४१, जातीय छुवाछूतका ११२ अप्राकृतिक मैथुनका ८७, अवैध गर्भपतनका ८३, मानव बेचबिखन गरी जबरजस्ती करणी गरेका २५ र जबरजस्ती करणी गरी हत्या गरेका १७ वटा घटनामा उजुरी परेको तथ्यांक छ ।

यीमध्ये कतिपय घटनाहरु लोकलाजका डर तथा उजुरी दिने प्रक्रिया नजान्दा पनि बाहिरिन नपाएको हुन सक्ने आकलन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर