झापाका पोल्ट्री व्यवसायीले प्रतिबन्धित भारतीय कुखुराको अवैध आयात रोक्न सरकारसँग माग गरेका छन् ।

आर्थिक मन्दी र भारतीय प्रतिबन्ध्ति कुखुराको अवैध आयातले झापाका पोल्ट्री व्यवसायी पलायन हुने अवस्थामा पुगेको भन्दै सीमाबाट हुँदै आएको अवैध कुखुरा, तयारी मासु र अन्डा लगायत कुखुरा जन्य बस्तुको आयात रोक्न झापा प्रसाशनसंग व्यवासायीले माग गरेका हुन् ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी र शसस्त्र प्रहरी सिमा सुरक्षा बल झापाका प्रमुख प्रहरी उपरीक्षक देवराज अर्याललाई व्यवासायीले छुट्टाछुट्टै कार्यकक्षमा ज्ञापन पत्र बुझाउँदै भने,‘ भारतबाट प्रतिबन्धित कुखुराको अबैध आयातले नेपालका कुखुरा व्यवसायी पलायन हुने अवस्थामा पुगेका छन् । असस्थ्यकर मासुको अबैध आयातलाई तत्काल कडाईका साथ नियमन गरिदिनुपर्यो ।’ कानुनले प्रतिबन्धित गरेको कुरालाई हामीले व्यवहारमा कार्यान्वयन का लागि अनुरोध गरेको व्यवसायीले बताए ।

भारतबाट सस्तो मूल्यमा जिउँदो कुखुरा र मासुको आयातले झापाका पोल्ट्री व्यवसायी यतिबेला सङ्कटमा परेका छन् । त्यसलाई कडाइका साथ नियन्त्रण गरिदिनु पर्ने जिल्ला कुखुरा व्यवसायी संघ झापाका अध्यक्ष विवेक निरौलाले बताए । उनले व्यवसाय जोगाउन र व्यवसायीलाई अन्य पेशा व्यवसायमा लाग्न बाध्य नपार्न पनि झापाका सरकारी अधिकारीसँग अनुरोध गरे ।

भारतमा जिउँदो कुखुरा र तयारी मासुको मुल्य सस्तो हुँदा नेपालमा मंहगिएको छ । नेपालमा भारत लगायत तेश्रो मुलुकबाट कच्चा पदार्थको बैधानिक आयात हुने गरेको छ । भारतबाटै आएका कच्चा पदार्थको लागत बढी भएकाले नेपालमा कुखुराको उत्पादन महँगो भएको भ्याली फिड प्रालिका संचालक घनश्याम निरौलाले बताए ।

नेपालमा उत्पादन हुने मकैले व्यवसायीलाई तीन महिना मात्र धान्ने गरेको छ । भारत लगायत तेश्रो मुलुकबाट मकै, सोया, तोरीको पिना लगायत अन्य कच्चा पदार्थ र औषधी आयात हुने गरेको छ । विदेशबाट आयात हुने यस्ता बस्तुमा लाग्ने भन्सार शुल्कको कारणले दाना महंगो पर्न गएको निरौलाले बताए ।

यस अघि कच्चा पदार्थमा १ प्रतिशत मात्र भन्सार शुल्क लाग्ने गरेको थियो । हाल बढेर ९ प्रतिशत पुगेको छ । व्यवासयीले भन्सार दर बढेकोले नेपालमा कुखुरा जन्य बस्तुको मुल्य हाल आएर बढेको बताएका छन् ।

झापामा दैनिक कम्तिमा ४० हजार केजीसम्म कुखुराको खपत हुदैँआएको छ । आर्थिक मन्दिका कारणले ४० प्रतिशत माग घटेको र मूल्यसमेत घटेको अर्का व्यवसायी सुवोध निरौलाले बताए । तीन वर्ष अघिसम्म जिल्लामा करिब आठ हजार किसान पोल्ट्री व्यवसायमा आबद्ध थिए । अहिले ४ हजार किसान मात्र यो व्यवसायमा अडिएका छन् ।

नेपाल कुखुराको मासु र अण्डामा आत्मनिर्भर मुलुक हो । तर, प्रतिबन्धित अवैध रुपमा आयात हुने अस्वस्थ्यकर मासु तथा अण्डा लगायतका उपभोग्य बस्तुको प्रभावकारी नियमन र नियन्त्रण नहुँदा आफूहरुले समस्या भोग्नु परेको व्यवसायीले गुनासो गरेका छन् ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतिय कुखुरा र कुखुराको मासु तथा अण्डाको अबैद्य आयातलाई बिषेश निगरानीमा राखिने बताए । उनले जुनसकै नाकाबाट अबैध रूपमा नेपाल भित्रिएपनि त्यस्तो कार्यमा संलग्नलाइ कारबाही गरिने बताएका छन् ।

खुला सिमानाको गलत फाइदा उठाउँदै कुखुरा र कुखुराको तयारी मासु तथा अण्डा लुकाई छिपाई गरी भारतबाट नेपाल भित्र्याउने गरेको सुचना संचार माध्यमले जनाएपछि आफ्नो पनि ध्यानाकर्षण भएको प्रजिअ पोख्रेलले बताए । प्रतिबन्धित बस्तुको अबैध तस्करी गर्ने जो कोहीलाई पनि पक्राउ गरि कारबाही गरिने उनले बताए ।

सिमानामा खटिएका नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई कडाईका साथ निगरानी बढाउन निर्देशन हुने उनले बताए । ‘अब, झापाका जुनसुकै नाकाबाट यस्ता प्रकारका बस्तुहरुको नेपाल भित्रिन पूर्ण निषेध गरिने छ,’ उनले भने ।

सुचनाका लागि व्यवसायी साथीहरुले सहयोग गरिदिनु पर्यो । हामि त्यस्तो व्यक्ति र प्रतिबन्धित बस्तुको ओसार पसारमा संलग्न ढुवानीका साधन जफत गरी कानुन अनुसार कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी पोख्रेलले व्यवसायी संग आग्रह गरे ।

पशु स्वास्थ्य पशु सेवा ऐन, २०५५ को परिच्छेद ५ को व्यवस्था अनुसार प्रतिबन्धित पशु र पशु जन्य बस्तुको पैठारी गर्ने व्यक्तिलाई २५ हजार सम्म जरिवाना हुने व्यवस्था छ । यसरी पैठारी गरिएको बस्तुमा संक्रामक रोग भएको पाइएमा दोब्बर जरिवाना हुने व्यवस्था छ ।

ढुवानी गर्ने साधन भए त्यसलाई जफत गर्ने र प्रतिबन्धित बस्तु भए नष्ट गर्ने व्यवस्था कानुनमा उल्लेख भएको पशु क्वारेन्टाइन काकडभिट्टाका मुकेश शिंहले बताएका छन् ।

भारत संग सिमाना जोडिएका झापाका मेचीनगर, भद्रपुर, केचनाकवल, हल्दिबारी, झापाबजार, गौरीगञ्ज लगायतका पालिकाका विभिन्न नाकाबाट नेपालमा प्रतिबन्धित कुखुरा जन्य बस्तुको अबैध पैठारी हुने गरेको व्यवसायीले गुनासो गरेका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर