झापा — विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रथम भद्रपुर झापा गोल्डकपको उपाधि नजिक पुगेको छ ।
भद्रपुर स्थित मेची रङ्गशालामा आज सम्पन्न पहिलो सेमिफाईनल खेलमा संकटा क्लब माथि १–० को कठिन जित निकाल्दै आर्मी फाईनल प्रबेश गरेको हो । निर्धारित समयमा दुबै तर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समय तर्फ धकेलिएको थियो । अतिरिक्त समयको दोश्रो हाफमा आर्मीका सन्तोस केसीको फ्रि किकमा हेड मार्फत चेतन केसीले गोल गरेका थिए । उनको गोलनै आजको निर्णायक गोल बन्न पुग्यो ।
आईतबार हुने दोश्रो तथा अन्तिम सेमिफाईनल खेलमा मच्छिन्द्र क्लबले बिभागीय टोली एपिएफ क्लबसँग प्रतिष्पर्धा गर्नेछ । फागुन ७ गतेबाट सुरु भएको गोल्डकप फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । गोल्डकपमा तीन विदेशी टोलीसहित १० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए ।
गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर