खोटाङ । खोटाङको सुनकोशी स्थित फोक्सिङ्टारमा निर्माणाधीन मोटरेबल पक्की पुल निर्माण सम्पन्न नहुँदै सञ्चालनमा ल्याइएको छ । २०७३ चैत २२ गते सम्पन्न गर्ने गरी २०६९ चैत २३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाईपी जेभीसँग सम्झौता गरेको थियो तर पुल निर्माण कम्पनीको ढिलासुस्तीका कारणले निमार्ण सुरु गरेको दश वर्षपछि बिहीबारबाट सञ्चालनमा ल्याइएको हो ।

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ डिजाइनको १२० मिटर लामो छ । फोक्सिङ्टार पुलभ्याटसहित रु २२ करोड ६७ लाख ११ हजारमा पूरा गर्नेगरी निर्माण कम्पनीले ठेक्का लिएको हो ।

 

सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने लाइफ लाइनको रुपमा रहेको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने फोक्सिङ्टारको पक्की पुल सञ्चालनमा आएसँगै जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमासमेत सहजता हुने अपेक्षा गरिएको छ । पुल निर्माण कम्पनीको ढिलासुस्ती हुँदा सात वर्षदेखि फोक्सिङ्टारमा अस्थायी बेलिब्रिज जडान गर्ने तथा झिक्नेक्रममा राज्यकोषको करोडौँ रकम खर्च भएको थियो ।

यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै फिनिसिङ (रङरोगन तथा वाइरिङ)को काम सम्पन्न नहुँदै निर्माणाधीन फोक्सिङ्टार पुलमा यातायात सञ्चालन गरिएको निर्माण व्यवसायी रामकुमार थापाले बताउनुभयो । निर्माणाधीन फेक्सिङ्टार पुलमा अहिले रङरोगन र वाइरिङ गर्ने काम भइरहेको छ । उहाँले भर्नुभयो एक हप्ता भित्रमा बाँकी रहेको काम पूरा गर्ने छौँ ।

फोक्सिङ्टारमा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा आएसँगै जिल्लाको समग्र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताउनुभयो । तराईसँग सिधा यातायात सम्पर्क नहुँदा जिल्लाको भौतिक विकासमा समेत असर परेको थियो ,उहाँले भन्नुभयो, ढिलै भए पनि सुनकोशीस्थित फोक्सिङ्टारमा निर्माण गरिएको पुल सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएसँगै आवतजावतका साथै दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री ढुवानीमा सहज भएको छ ।

दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक अलपत्र अवस्थामा छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने उक्त महुरे–फोक्सिङटार सडक कालोपत्र ठेकेदार कम्पनीको चरम लापरबाहीले अलपत्र परेको हो ।

मध्यपाडी लोकमार्गबाट छुट्टिने महुरेदेखि राजापानीको सिम्पानी (२२ किलोमिटर) सडक कालोपत्रको काम भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभी तथा सिम्पानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) सडक खण्डको काम देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले जिम्मा लिएको थियो । दुवै सडक ठेकेदारको लापरबाहीले कालोपत्रको काम नहुँदा हिउँदमा धुलो र वर्षामा हिलोका कारण यात्रुहरु समस्यामा पर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर