खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीहरुलाई अभ्यास पुस्तिका वितरण गरेको छ । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्किरहेको अवस्थालाई मध्यनजर गरेर गाउँपालिकाले पालिका क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका विद्यार्थीलाई गाउँपालिका आफैले तयार गरेको अभ्यास पुस्तिका वितरण गरेको हो ।
गाउँपालिकाको कार्यालयमा आईतबार कार्यक्रम गरी गाउँपालिकाभरीका ३७ वटा सामुदायिक विद्यालयमा कक्षा १ देखि कक्षा ३ सम्म अध्ययनरत ९ सय ४९ जना विद्यार्थीका लागि प्रति विद्यार्थी चार वटाका दरले मंसिर महिनाका लागि ३ हजार ७९६ वटा अभ्यास पुस्तिका वितरण गरेको हो ।
अभ्यास पुस्तिका गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले ३७ वटै विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिलाई हस्तान्तरण गरेका छन्। पुस, माघ र फागुन महिनामा पनि प्रति विधार्थी चार वटाका दरले वितरण गर्नेगरी अन्य अभ्यास पुस्तिका गाउँपालिकामा भण्डारण गरेर राखिएको छ ।
पृष्ठभूमिमा गाउँपालिकाको प्रशासनिक भवन र गाउँपालिकाको भौगोलिक नक्सा राखेर अभ्यास पुस्तिका तयार गरिएकोे छ । अभ्यास पुस्तिकामा मिति, विधार्थीको नाम, कक्षा, रोल नं., विषय, विद्यालय, विषय शिक्षकको नाम, सम्पर्क नम्बर, प्रधानाध्यापकको दस्तखत, अभिभावकको नाम र सम्पर्क नम्बर लेख्ने स्थान राखिएको छ। प्रधानाध्यापक र शिक्षा शाखाबाट विषय शिक्षक÷कक्षा शिक्षकलाई शैक्षिक सुधारका लागि दिईने ५÷५ वटा बुँदा लेख्ने स्थान राखिएको छ ।
अभ्यास पुस्तिका प्रयोग गर्दा विधार्थी, शिक्षक, अभिभावकले पालना गर्नुपर्ने बुंदाहरु पनि राखिएको छ। अभ्यास पुस्तिकामा विद्यार्थीहरुले दिउँसोको कक्षा कार्य र गृहकार्य गरी शिक्षकलाई जाँच गर्न लगाउनुपर्नेछ, शिक्षकले दिएको कक्षा कार्य र गृहकार्यको मिति अनिवार्य लेख्नुपर्नेछ, अभ्यास पुस्तिकाको सम्पूर्ण पानाहरु लेखिसकेपछि अभ्यास पुस्तिका सुरक्षितसँग विद्यालयमा बुझाउनुपर्नेछ।
शिक्षकले अभ्यास पुस्तिका प्रयोग गराउँदा प्रत्येक दिन कक्षा कार्य र गृहकार्य यहि अभ्यास पुस्तिकामा दिई रातो मसिको प्रयोग गरी जाँच्नुपर्ने, अभ्यास पुस्तिकाको सम्पूर्ण पेजहरु विधार्थीले लेखिसकेपछि प्रधानाध्यापकबाट प्रमाणित हुनुपर्नेछ। अभिभावकले प्रत्येक दिन शिक्षकले गृहकार्य दिईएको छ÷छैन जाँच गर्नुपर्ने र शिक्षकले आफ्नो छोराछोरीलाई दिईएको गृहकार्य अनिवार्य रुपमा गर्न लगाउनु पर्नेछ। त्यसपछि अभ्यास पुस्तिका विद्यालयले गाउँपालिकाको शिक्षा शाखामा बुझाउनुपर्ने र नयाँ कापी लिएर विद्यार्थीलाई दिनुपर्नेछ।
कुन विद्यालयमा कुन–कुन शिक्षकले कति पढाएको छ भनेर शिक्षा शाखाका कर्मचारीले जनप्रतिनिधिको उपस्थितिमा अभ्यास पुस्तिका जाँच गरिने शिक्षा संयोजक सुरेन्द्र खनालले बताए। त्यसपछि अभ्यास पुस्तिकामा प्रअ र शिक्षा शाखाबाट विषय शिक्षक र कक्षा शिक्षकलाई शैक्षिक गुणस्तर सुधारका लागि ५÷५ वटा सुझावसहित अभ्यास पुस्तिका विद्यालयलाई नै फिर्ता दिईनेछ।
गाउँपालिकाले शैक्षिक सुधार लागि अघि बढाएको अभ्यास पुस्तिका वितरण योजनाले विधार्थी, शिक्षक, अभिभावक र कामचोर शिक्षकलाई ठेगान लगाउने आशा गरिएको छ। यसरी कापी वितरण गर्दा कुन विद्यालयको शैक्षिक स्तर कस्तो छ, शिक्षकले गृहकार्य दिए÷दिएनन, विधार्थीले गृहकार्य गरे÷गरेनन्, शिक्षकले गृहकार्य जाँज गरे÷गरेनन्, फर्जी विधार्थी छन्÷छैनन् पत्ता लाग्नेछ।
आगामी शैक्षिक सत्रदेखि कक्षा ४ र कक्षा ५ मा पनि विधार्थी अभ्यास पुस्तिका निःशुल्क वितरण गर्दै चेक गर्ने कार्यक्रम कार्यन्वयनमा ल्याइने योजना छ। कार्यक्रम प्रभावकारी देखिएमा कक्षा ६ र कक्षा ७ को विज्ञान, गणित र अंग्रेजीको अभ्यास पुस्तिका चेक गर्ने कार्यक्रम लागू गरिनेछ। अध्यक्ष राईले भन्नुभयो। यस गाउँपालिकाको ३७ विद्यालयमा कक्षा ११ बाहेक ३ हजार ३२४ जना विधार्थी अध्ययनरत छन्। त्यसमध्ये कक्षा १ देखि कक्षा ३ सम्म ९ सय ४९ विधार्थी अध्ययनरत छन्। चालू शैक्षिक सत्रका लागि १६ हजार अभ्यास पुस्तिका तयार गरिएको छ।