पथरीशनिश्चरे, पूर्वी मोरङको पथरीशनिश्चरे २ स्थित श्रेष्ठ परिवारका एक छोराले पैतृक सम्पत्ति कम दिएको भन्दै आफ्नै बृद्धा आमालाई हत्या गरेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गएको ११ गते मंगलबार राति ४० वर्षे कमल श्रेष्ठले आफ्नै ९० वर्षकी बृद्ध आमालाई हत्या गरेको आशंकामा इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको हो । दिनहुंजसो आफुलाई कम्ति जग्गाजमिन दिएको भन्दै आफ्नै आमामाथि पटक पटक झैँ – झगडा र अभद्र व्यवहार गर्दै आएका कमलले नै मंगलवार राति आफ्नै वृद्धा आमामाथि कुटपीट गरी हत्या गरेको निज अभियुक्तका दाजुभाई तथा आफन्तले आरोप लगाएका छन् ।
उनीहरुले वृद्धा आमाको हत्या गरेपछि निज अभियुक्तले एक्लै नजिकैको जयचौकस्थित जंगलभित्र लगेर टायर र मट्टीतेल प्रयोग गरी आगो लगाएर जलाएको आशंका गरेका छन् । आफन्तले र निजको दाजुभाइले मंगलवार विहानैदेखि वेपत्ता भएकी आफ्नी वृद्ध आमाको खोजीका लागि केही दिन अघि मात्र इलाका प्रहरी कार्यालय पथरीमा खोजतलासका जाहेरी दिएका थिए ।
अभियुक्त कमलकै घरमा बस्दै आएकी बृद्धा आमालाई निक्कै अगाडीदेखि निज अभियुक्त कमलले आफुलाई जग्गा कम दिएको निहुँ र विषयमा वृद्धा आमामाथि गाली, झगडा र अभद्र व्यवहार गर्दै आएको छेउमा बसोबास गर्ने दाजुभाई तथा आफन्तले बताएका छन् । केही दिन अघि मात्रै ६,७ वर्ष अघि श्रीमान गुमाएकी वृद्धा आमाको नाममा रहेको जिउनी जग्गामाथि मुद्धा परी फैसला भएको थियो ।
अभियुक्त कमलले आफ्नै आमाको हत्या गरी जलाएको हो वा के भएको हो भन्ने सवालमा स्थानीय प्रहरीले निजलाई नियन्त्रणमा लिई निजका आफन्त र छिमेकमा रहेका निज अभियुक्तका दाजु भाईहरूसित पनि आवश्यक अनुसन्धान गरिरहेको सोहि वडाका वडाध्यक्ष यामप्रसाद गुरागाईले बताए ।