विराटनगर । भारतबाट जोगवनी नाका हुँदै नेपाल प्रवेश गरेका ४१ जना नेपाली नागरिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतको जोगबनी नाका भएर पछिल्लो एक साताभित्र विराटनगर प्रवेश गरेकाहरुको स्वाब संकलन गरी नमूना परीक्षण गर्दा ४१ जनामा कोरोना पोजिटिभ भेटिएको थियो । कोरोना संक्रमण पुष्टि भएकाहरुमा ओमिक्रोन भने नभेटिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

परीक्षणका क्रममा केही भारतीय नागरिकमा पनि कोरोना संक्रमण भेटिएको थियो । संक्रमित भारतीयलाई भने नेपाल प्रवेश नदिई भारततर्फ नै फर्काउने गरिएको छ । नेपाल प्रवेश गर्न खोज्ने संक्रमित भारतीयहरुलाई अनुमति दिँदा उनीहरुको कन्ट्रयाक्ट टे«ेसिङ गर्न चुनौती हुने भएकोले संक्रमितलाई उतै फर्काउने नीति लिएको छ । होल्डिङ सेन्टरमा बसेर संक्रमित पहिचान भएकाहरुलाई भने विराटनगर महानगरपालिकाले बैजनाथपुर र आरआरएन भवनमा सञ्चालित आइसोलेसनमा राखेर उपचार गर्न थालेको छ ।

जिल्ला प्रशासन कार्यालयमा पुस २५ गते बसेको जिल्ला कोरोना व्यवस्थापन समितिको बैठकले विराटनगर महानगरपालिकासँग पाँचवटा सार्वजनिक स्थलहरूमा आइसोलेसन सञ्चालन गर्न आग्रह गरेको थियो । महानगरले आइसोलेसन सञ्चालन गर्न आवश्यक स्रोतको अभावले गर्दा तत्काल दुई वटा मात्र आइसोलेसन सञ्चालन गरेको बताइएको छ । महानगरपालिकाले बैजनाथपुर स्थित विराटनगर १९ को उपस्वास्थ्य चौकी र विराटनगर १ मा रहेको आरआरएन भवनलाई आइसोलेसनको रुपमा प्रयोग गर्दै आएको छ ।

सीमा क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरेर विराटनगर महानगरपालिकाले दैनिक ६०० देखि ७०० जनालाई निगरानी गरी संकास्पदहरुको परीक्षण गर्दै आएको छ । दैनिक भारतीय बजारमा किनमेल गर्न जाने व्यक्तिका कारण संक्रमित पहिचानमा समस्या भएको भन्दै महानगरले अत्यावश्यक काममा बाहेक भारतीय बजार नजान सचेत गराइरहेको छ ।

कोरोना संक्रमणको दोस्रो लहरका बेला दिनरात काममा खटिएका स्वास्थ्यकर्मीले अहिलेसम्म त्यतिबेलाको जोखिम भत्ता नपाएका कारण अहिले जोखिमको काममा लगाउन समस्या भएको महानगरले जनाएको छ । स्वास्थ्यकर्मीहरुमा उत्प्रेरणाको बाबजुद पनि महानगरले कर्मचारी परिचालन गरेर काममा खटाइरहेको र स्रोत साधनले भ्याएसम्म कर्मचारीहरु संक्रमण विरुद्ध क्रियाशील भइरहेको जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले बताए ।

विराटनगर महानगरपालिकाले कोरोनाविरुद्धको अभियानमा विगतको जस्तै चौतर्फी काम गर्न आर्थिक अवस्थाले गर्दा समस्या भएको डिसिएमसीको बैठकमा बताएको थियो । महानगर आर्थिकरूपमा बलियो नभएको भन्दै सरकारले स्रोत उपलब्ध गराए अनुसार सबै योजना कार्यान्वयन गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर